गजलबारे मनका कुरा

    -श्रीजन श्री
हीराको मोल कीराले बुझ्दैन रे । यहाँ पनि यस्तै भएको छ । गहनतम्, जनप्रिय र ललित गजललाई हल्का र हौवा विषय हो भन्ने गवाइ दिँदै कठघराबाट मुक्त हुने प्रयास गर्नेहरू थिए र छन् पनि । यसका बाबजुद पनि गजलकी गङ्गा आफ्नै विशिष्टताका साथ अनवरत बगिरहेकी छिन् । हो, गङ्गामा फोहोर मैला नमिसिएको भने हैन, किन्तु अब भने गङ्गा सङ्लिँदै छिन् । नाक खुम्च्याउने र खिसिट्युरी गर्नेहरू पनि ऐनामा हेर्न थालिसकेको अवस्था छ ।
वर्तमानमा सबै भन्दा बढी लेखिने/पढिने कुनै विधा छ भने गजल मात्र छ । गजलबाटै साहित्य लेखनीको श्री गणेश गर्नेहरू र साहित्यका अन्यान्य विधामा कलम चलाउँदा चलाउँदै पनि गजलमै समर्पित हुन आउनेहरूको असङ्ख्य उपस्थिति छ नेपाली गजलमा । देशव्यापी रूपमा मात्रै नभई विश्वव्यापी रूपमै गजल संस्थागत मात्र बनेको छैन कि हिजो गजलको नाम मात्र सुन्न नचाहनेहरू पनि आज गजलप्रति लालायित भएका देख्न सकिन्छ । अचेल साहित्यिक पत्रपत्रिकाहरू मात्र नभई अन्य पत्रपत्रिकाहरूमै पनि गजलले प्रमुखता पाएको छ । उता रेडियो टेलिभिजनलगायतका सञ्चार माध्यमहरूमा पनि विशुद्ध गजलीय कार्यक्रमहरूको बाक्लो उपस्थिति देखिन्छ । गजलका नाममा विभिन्न पूरस्कार, सम्मानहरू स्थापना हुने क्रम जारी नै छ । यो सब हुनुको कारण हो"Tahoma","sans-serif"; font-size: 9pt;">, गजलको नेपालीकरण हुनु । गजल अब नेपाली जीवन र संस्कृतिको एउटा अभिन्न अङ्गजस्तै बनिसकेको छ । अबको प्रत्येक बिहान गजलसँगै उदाउने र प्रत्येक साँझ गजलसँगै अस्ताउने निश्चित छ ।
  अब कुनै दिन महाकालीको देउडा र मेचीको पालाम गजलमै गाइयो भने अचम्म नमान्दा हुन्छ । हिमालको डाँफे र मधेशको मजुर गजलमै छम्छमाए भने चकित नहुँदा हुन्छ । नेताहरूका भाषणमा, आममान्छेका बोलीचालीमा गजलका शेरहरू आउन थाले भने तीन छक्क नपर्दा हुन्छ, किनकि अबको गजल साँच्चिकै गजल बनेर आउँदै छ, अबको गजल साँच्चिकै आममान्छेको हाँसो, खुसी र रोदनको साथी बनेर आउँदै छ ।
गजलको गहनता, गजलको ज्वाज्वल्यता, गजलको लालित्य शब्दले व्यक्त गर्न सकिँदैन । गजल त्यो वस्तु हो, जोसँग आगो पनि हुन्छ, पानी पनि हुन्छ । जसरी दमाहा बजाइसकेपछि पनि पछिसम्म त्यसको गुञ्जन कानमा गुञ्जिइरहन्छ त्यसरी नै गजल वाचन गरिसकेपछि पनि त्यसको तरङ्ग श्रोता एवम् पाठकहरूका हृदयमा पछिसम्म गुञ्जिइरहन सक्यो भने मात्र गजल, गजल बन्छ भन्ने कुरा बिर्सनु हुँदैन हामीले । हो, अचेल थोरै भए पनि त्यस्ता गजलहरू आउन थालेकाले पनि नेपाली गजलको भविष्य सुन्दर छ भन्न सकिन्छ । युग विशिष्टताको हो र गजलमा पनि विशिष्टता हुनै पर्दछ । ज्रि्रोमा लाग्ने गजल हैन कि मष्तिष्कमा लाग्ने गजलहरूमात्र कालजयी बन्दछन्् । यर्सथ अबका गजलकारहरूले मष्तिष्कमा लाग्ने गजलसृजनतिर उन्मुख हुनुपर्दछ । हाँक र चुनौतीको सामना गर्दै गएमात्र हामीले गजलको र आफ्नो रक्षा गर्न सक्छौँ, अन्यथा गहबाट उम्कन गाह्रो पर्न सक्छ ।
जिन्दगी गजल र गजल जिन्दगी हो । शङ्काले लङ्का जलाउनु भन्दा (केवल खुर्पाको विँड सम्झिनेहरूलाई भन्दै छु म) यसरी हेरौँ गजललाई अनि मात्र घैँटामा घाम लाग्छ । यो लाटाका गाउँमा गाँडा तन्नेरी बन्ने जमाना होइन । सृजनामा दम र र्सजकमा अन्दाजेबयाँ छैन भने तिलको ताड बनाउँदैमा केही हुन सक्दैन । यसर्थ युगको मागलाई जसले बुझ्न सक्छन् उनीहरूमात्र जीवन्त बन्छन् भन्ने कुरामा दुई मत नहुनुपर्ने हो । भन्न खोजेको के हो भने गजलोन्नति तीव्र गतिमा हुँदाहुँदै पनि अझै चुनौतीहरू बाँकी नै छन् । चुनौतीको बारेमा कोट्याउनुपूर्व के भनिहालौँ भने, जो आगोसँग खेल्न सक्छ ऊ दिग्विजयी बनिरहन्छ । गजलसँग खेल्नु आगोसँग खेल्नु हो । आगोको रापले धेरैलाई पगाल्छ, धेरैलाई खरानी बनाउँछ र थोरैलाई मात्र खार्छ ।
गजलका चुनौतीहरू
१) कतिपय र्सजकहरूले गजललाई ख्यालठट्टाको विषय बनाउनु ।
२) गजल गायनमा उल्लेख्य काम हुन नसक्नु, गाइएका कतिपय गजलहरू शव्द गजल र सङ्गीत गजल नबन्नु एकातिर भने, अर्कातिर कतिपय रचनाहरू गजल नबन्नु तर सङ्गीत गजलको जस्तै बन्नु ।
३) गजलमा खण्डकाव्य/महाकाव्यको उल्लेख्य विस्तार हुन नसक्नु ।
४) शृङ्गार रस, शान्त रस, करुण रसहरूमा गजलले उचाइ प्राप्त गरेको भए पनि वीभत्स, भयानक, वीर, हास्य, रौद्र, अद्भुत, रसहरूमा गजल अत्यन्त न्यून लेखिनु/लेख्दै नलेखिनु ।
५) पाठ्यपुस्तकहरूमा गजललाई (सोचेजस्तो) समाविष्ट गर्न नसक्नु ।
६) गजल समालोचना अझै कछुवा गतिमै देखिनु । (आग्रही र पूर्वाग्रही हुनु )
७) मतभेदहरू बढेको देखिनु (लय र भावबीच, शास्त्रीय बहर र स्वतन्त्र लयबीच, शीर्षक र अशीर्षकबीच, काफिया हुनै पर्छ र हुनुहुँदैन भन्ने भनाइबीच, स्वतन्त्र विधा हो र हैनबीच, गजललाई मौलिक विधा मान्नर्पर्छ र पर्दैनबीच)।
८) अझैसम्म पनि गजललाई स्वतन्त्र विधाको रूपमा स्थापित गर्न नसक्नु इत्यादि गजलका मुख्य चुनौतीका रूपमा उभिएका छन् । यसबाट पार पाउनको निम्ति विशेषतः नेपाली गजलगोहरूमा एकताको विकल्प छैन । हुनत कुनै पनि विधाको विकासको निम्ति व्यापक बहस हुनु जरुरी हुन्छ, तथापि बिना कामको खोचे थापेर गरिने बहसहरूले विधागत प्रश्नलाई नकारात्मक असर पार्छ कि भन्ने चिन्ता हो । विशेषतः विधा र उपविधा अनि काफिया हुनुपर्छ र हुनुहुँदैनभन्ने बहसले कस्तो असर र सम्भावना ल्याउन सक्ला भन्ने कुरा प्रधान हो । मलाई लाग्छ, गजल उपविधा हो, काफियामुक्त हुनुपर्छ भन्ने खालका जुन विचारहरू आएका छन्, ती खोचे विचारहरूमात्र हुन् । अब गजललाई नि:शर्त स्वतन्त्र विधा स्विकार्नुपर्दछ किनकि यसको व्युत्पत्ति अरबी भाषा साहित्यमा पनि एक स्वतन्त्र विधाकै रूपमा भएको हो । त्यति मात्र हैन कि यसका रूपगत घटकहरू पनि साहित्यका अन्यान्य विधा र उपविधाहरूबाट एकदम भिन्न छन् । यसर्थ कागको शरीरमा बकुल्लाको टाउको जोड्ने प्रयास गरेर गजललाई जानाजान अन्य विधासँग जोड्ने दुष्प्रयास गर्नु आफैँमा न्यायसङ्गत देखिँदैन । यता काफियाको अनिवार्यतालाई भङ्ग गरौँ भन्ने अवधारणाले त गजललाई हानि पुर्‍यायो पुर्‍यायो गीत र कवितामाथि पनि अन्याय गर्ने निश्चित छ ।
हो, बहस गरौँ तर स्वच्छ मनले । रातारात प्रचार प्रसारमा आउन गरिने प्रपन्चप्हरूलाई नेपाली गजलले पचाउन सक्दैन । यहाँ आए आँप, नआए झटारोप्रवृत्ति बढिरहेको छ । कतै झटारो फर्किएर आफ्नै टाउको फुट्ने त होइन विचार गरौँ है !
    
                    अध्यक्ष-अनाममण्डलि, मलेसिया