साहित्यकार गोविन्द भट्ट रहेनन्




साहित्यकार गोविन्द भट्ट
वरिष्ठ समालोचक तथा साहित्यकार गोविन्द भट्टको बुधबार साँझ  ७५ वर्षको उमेरमा निधन भएको छ । आफ्नो निवास लाजिम्पाट खुर्सानीबारीमा हृदयाघात भएपछि उहाँलाई उपचारका लागि बाँसबारीस्थित गङ्गालाल हृदय केन्द्रमा लगिएकामा अस्पतालमै उहाँको निधन भएको हो । पछिल्लो समय उहाँलाई मधुमेह, मुटु र छातीको समस्या देखिएको थियो ।

प्रगतिशील लेखक सङ्घका पूर्व अध्यक्ष भट्टले राष्ट्रिय समाचार समितिबाट आफ्नो पत्रकारिताको आरम्भ गर्नुभएको थियो । उहाँ गोरखापत्र संस्थानको अध्यक्ष र श्रीसगरमाथा दैनिक पत्रिका प्रालिका अध्यक्ष हुनाका साथै तत्कालीन  नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ सदस्य पनि हुनुहुन्थ्यो ।  उहाँका ‘गुण्डा दर्प दलन’, ‘शान्ति सन्देश’ लगायतका खण्डकाव्य, गोविन्द भट्टका समालोचना सङ्ग्रहका साथै थुप्रै लेख,अन्तर्वार्ता र भूमिकाहरु प्रकाशित छन् ।

‘सत्यबहादुर’शीर्षकको उहाँको गद्यकवितामा लेखिएको खण्डकाव्य अधुरै रहेको छ । पारिजातको ‘शिरीषको फूल’ उपन्यासमाथि‘शिरीषको फूल कि कागजको फूल’ शीर्षकमा समालोचना गरेपछि उहाँ निकै चर्चित हुनुभएको थियो । स्व भट्टका श्रीमती र दुई छोरी(लुना र शिरीष) छन् । स्व भट्टको   दाहसंस्कार बिहीबार पशुपति आर्यघाटमा गरिने बताइएको छ । त्यसपूर्व बिहान ८देखि मध्याह्न १२ बजेसम्म उहाँको शव नेपाल प्रज्ञा–प्रतिष्ठानको परिसरमा श्रद्धाञ्जलिका लागी राखिने छ ।

साभार डिसी नेपाल डट कम बाट