गद्दय कविता 'तितो सत्य '


Bina Tamang
बिना तामाङ 'सुनगाभा'
निस्वार्थका रुपरेखा खोज्न थालें
जीवन अस्तित्व रक्षार्थ
हात पसार्नु कत्तिको जायज छ?
उत्तर खोज्न थालें
सायद उत्तर यतै कतै
जीवन बिसंगतीमै भेट्टाउछु कि?

आफ्नो दुष्कर जीवन यात्रालाई
नरम बाटोहरुमा परिवर्तन गर्न
शिर निहुराएं
याचना गरें
अहं कुनै परिवर्तन आएन
संसार नरमहरुको लागि हैन
कठोरहरुको लागि रहेछ यहि ठम्याई भयो
अनि घोत्लिएर सोच्न थालें फेरि
कोमल फूलसंग तुलना गरें
मतलब निकालें
फूल हेर्दा निश्चल ,निर्मल
तर यो भित्र पनि स्वार्थ देखें
सायद पत्याउनु हुन्न होला
त्यसो भए सोच्नुस त
फूलले पनि आफ्नो अस्तित्व जोगाउन
काँडाकै सहारा त लिन्छ
मगमगाउँदो बनेर
भमरालाई आमन्त्रित गर्छे
बासना चलाएर लठ्ठ पार्छे
अनि परागशेचन गराएर
आफ्नो अस्तित्व जोगाउँछे
फूल र भवंराको प्रेमलाप पनि
अस्तित्व जोगाउने युद्द रहेछ
संसार यस्तै रहेछ
प्रकृति यस्तै  रहेछ
क्षणिक अस्तित्व जोगाउन
महासंग्राम गर्नै पर्ने
त्यसैले स्वार्थ  यहाँ
जताततै व्याप्त रहेछ
तितो सत्य यहि रहेछ

-काठमाण्डौं