थिएटरका धुनहरु

 साँच्चै तिमी बाटो भुलेर पृथ्बीमा झरेको अप्सरा हौ । मैले मनको बाँध फुटाएँ । धेरै दिनदेखी पर्खेको मौका जुरेको थियो त्यो दिन । म आफूलाई छर्लङ पारेर प्रस्तुत गर्ने र पूर्णिमाको ध्यान आफूतिर घुमाउने आकांक्षा पालेर त्यहाँ पुगेको थिएँ । 'तर....... मलाई सुन्दर देख्नु तिम्रो कम्जोरी हो । सुवास बिनाको पलौसको फूलले गुलाबको दर्जा पाउन्न ।' क्षितिज नियाल्दै स्पष्टिकरण दिई पूर्णिमाले ।
'प्रेमले भरिपूर्ण हातको स्पर्शले पत्थरको मूर्ति पनि ईश्वर बन्छ ।' मैले तर्क उभ्याएँ ।
'मलाई प्रेम र भगवान् दुबैप्रति आस्था छैन राज ।'
'त्यो तिम्रो भूल हो ।'
'भूल होइन, बिशेषता.....'

           'काँडा उम्रिनु गुलाबको बिशेषता, तर हामी फूल नै रोज्छौं काँडा होइन ।' आफ्नो तर्कप्रति सन्तुष्ट हुँदै त्यसको प्रतिकृया पूर्णिमाको अनुहारमा नियालें । जवाफमा उ केवल फिस्स हाँसी । कुर्सीबाट उठेर घरतिर जान इशारा गरी । म आज्ञाकारी बनें । तर जब कोठाको दृश्यदेखें म अवाक भएँ । कोठाबिचको टेबुलमाथि एउटा सुन्दर फूलदानीमा क्याक्टस भरिएको थियो । उफ ...... जीबनमाथिको कत्रो ब्यङ्ग्य । एकफेर कोठाको सिङगो परिबेश नियाले ।

            त्यहाँ हरेक चिजले जिबनको खिल्ली उडाइरहेको थिए । भित्तामा झुण्ड्याईएका चित्रहरुमा जिबन थिएन केवल पहेंला खण्डहरहरु, आगोका लप्का अनी धुवैं धुवाका चित्रहरु थिए ति । शायद पूर्णिमा स्वंयले बनाएका चित्रहुन ति । पूर्णिमाले दुई कप कफी किस्तिमा लिएर आई संगै पियौ । मेरो ठीक अगाडि पट्टी थिई पूर्णिमा । मौनतालाई भाँच्न नआएको हाई काढें एकदम 'आर्टिफिसियल' हाई । त्यसपछी स्थितिलाई पढ्दै जिज्ञासा जोतें- 'तिमी एक्लै होकी कोही .........' 'सम्झ एक्लो'
मतलब......तिम्रो आफन्त छैनन ?
'भए किन एक्लो हुन्थे ।'
'विवाह ?'
'आवश्यक ठान्दिन ।'
'जिबन कसरी चल्छ त ?'
'देखिरहेका छौ'
'जिबनमा तिमीले प्रेम्...... ?
गरेकी थिएँ असफल भएँ ।'
'यो फूलदानीमा क्याक्टस किन ?'

          'मेरो जिबनको 'सिम्वोल' हो त्यो ।' -म उसको जवाफमा अवाक भएँ । चिसो भएँ । मेरो तर्कहरु रित्तिए । ओह..... कस्ती खालकी अजिव केटी हो यो । उसलाई पगाल्ने सामर्थ्य ममा भेटिन । लामो-लामो श्वास तान्दै त्यहाँबाट बाहिरिएँ । बाहिर बगैंचामा पुगेर सोचें- पूर्णिमाभित्र औंसीको कथा होला शायद । कोटको गोजी छामे, एकथुङगा रातो गुलाब मेरो खिलाफ गरेर हाँस्तै रैछ, म नराम्ररी रन्थनिए । पूर्णिमालाइ प्रेमप्रस्ताव गर्ने रहरलाई गुलाबको थुङगासँगै मिल्काएर हावाका झोंक्काहरुसँग ठोक्किदै घर पुगें ।

           केहीदिन पछि थाहा पाए पूर्णिमा गाउँबाट आएकी केटी रहिछ । शहरको एक धनाढ्यको छोरासँग प्रेम विवाह गरेर शहर पसेकी । तर बाबुआमाले खानदानीको वेईज्जती सम्झेर अस्वीकार गरेपछी उसको श्रीमानले आत्माहत्या गरेछ । त्यसपछी पूर्णिमा गाउँ फर्किनु अनुचित ठानेर रेष्टुरेन्ट, बारहरुमा नृत्य गर्ने, केटाकेटीहरुलाई पढाउने जस्ता काम सुरु गरिछ । उसको नृत्यकलाको प्रसिद्दिले गर्दा उसले थिएटरमा काम पाई । त्यही उसले संगीत र अभिनयको तालिम लिई । त्यसपछी पूर्णिमा साँचिकै पूर्णिमा बनी । उसको सुनामको प्रसिद्दिको किरणसंगै । त्यो दिन म पूर्णिमा संग नराम्ररी तर्सिएर भागेथें उसको घरबाट । त्यसपछी उसलाई भेट्ने जाँगर पलाएन मभित्र । हरेक आईतवार बेलुका थिएटरमा नाटक मन्चन हुन्थ्यो तर त्यसपछी म पटक्कै गईन नाटक हेर्नलाई । गोधुली सांझमा थिएटरमा गाएको 'अर्केस्ट्रा' गुन्जिन्थ्यो त्यसपछी पूर्णिमाले बजाएको बाँसुरीको मधुर धुन । म बरण्डामा बसेर सुनिरहन्थें । अनी सोंच्थें- पूर्णिमाका कुशल औंलाहरु कसरी नाच्दै होलान बाँसुरिको प्वालहरुमा । ओह..... ति मधुर धुनहरु कस्तरी मेरो सिङगो अस्तित्वलाई हल्लाउने गरी बज्थे, धर्ती पसिनै पसिना हुन्थ्यो, ताराहरु टिल्पिलाउन छोड्थे । हररात म चिसो बताससँग वहकिएर मिसिन पुग्थें त्यही थिएटरका धुनहरुसँग । पूर्णिमा र त्यो धुन । मायालु स्पर्श थियो त्यो मेरो निम्ति । लाग्थ्यो 'क्याक्टस' जस्टी पूर्णिमा म छेउ बसेर छुँदैछ मलाई तर........ आज उ मरी । अब बज्दैनन थिएटरमा धुनहरु । आज राती पक्कै जुन रुनेछन । परिबेश क्रमश: गह्रो बन्दैछ । अनूभुतिभरि लेकाली कुहिरो झैं हाम फाल्दै आईपुग्छन उरुङ्खात धुनहरु ऐठान बनेर ।

                                                                    राज 'दिलान्जली'
                                                                    नवमीडाँडा ५ तिजोक
                                                                    पाँचथर