साहित्यिक सम्मेलन सम्पन्न

नेपाल-भारत साहित्यिक सम्मेलन सम्पन्न भएको छ । बिपी कोइराला फाउन्डेसन र भारतीय दूतावासको सहयोगमा सार्क लेखक तथा साहित्यिक फाउन्डेसनले कार्यक्रम आयोजना गरेको हो । काठमाडौँमा सम्पन्न चारदिनेसम्मेलनमा सिर्जना र सर्जकमा उत्तर आधुनिकतावादले पारेको प्रभाव, दुई देशबीचका साहित्यिक तथा सांस्कृतिक सम्बन्धलगायत विषयमा विभिन्न कार्यपत्र प्रस्तुत भएका थिए । सम्मेलनमा करिब ७० नेपाली र ३० भारतीय गरी सयजना साहित्यकारको सहभागिता थियो । सम्मेलनमा प्रा लोकराज बराल, डा अभि सुवेदी डा अरुण गुप्ता, डा सञ्जीव उप्रेती, डा शिव रिजाल, डा सुदर्शनराज तिवारी, प्रकाश सायमी, अर्चना थापा तथा भारतीय पक्षबाट पूर्वराजदूत देव मुखर्जी, अर्पणा कौर, पुष्पेश पन्त, शर्मिला कान्थालगायतले सार्क लेखकका काम र इतिहास, नेपाल-भारतका लेखकहरू, दक्षिण एसियाबारे नेपाली चित्रकला र वास्तुकला, भारत-नेपाल सम्बन्ध, नेपाल र भारतका महिला, जैविक विविधतापूर्ण हिमालय संरक्षणका प्रयासजस्ता विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।