रूसमा नेपाली बौद्धभिक्षुणी आनी छोइङ्गको आत्मजीवनी प्रकाशित


-कृष्णप्रकाश श्रेष्ठ

रूसी भाषामा पनि नेपाली बौद्धभिक्षुणी आनी छोइङ्ग द्रोल्माको आत्मजीवनी ‘चिन्हाङ्किता’ शीर्षक बोकेर प्रकाशित भएको छ । लाउरेन्स ड्रेविलको सहयोगबाट फ्रेन्च भाषामा LA VOIX POUR LA LIBERTE  (मुक्तिका लागि मेरो आवाज) भन्ने शीर्षकमा प्रकाशित यस पुस्तकको रूसी अनुवाद ए. कोल्याबिनाबाट गरिएको हो । ख्यातिप्राप्त नेपाली भिक्षुणी गायिकाको २४० पृष्ठ ओगट्ने आत्मजीवनी मास्कोको ‘रिपोल क्लासिक’ प्रकाशनबाट सन् २०१० मा ५ हजार प्रति छापिएर बजारमा ल्याइएको छ । नमस्कार मुद्रामा लेखिका आनी छोइङ्ग द्रोल्माका छविचित्रद्वारा पुस्तकको जिल्द सिङ्गारिएको छ ।
आनी छोइङ्गसंग मेरो पहिलो साक्षात्कार काठमाडौंमा प्रथम गैरआवासीय नेपाली सम्मेलन (सन् २००३) को वेला भएको थियो । त्यतिखेर ठाडो भेट मात्र भयो । पछि दुर्इपल्ट उनको रूसको यात्राकालमा परिचयको दायरा केही फराकिलो भएको थियो । सन् २०१० को ७ जुलाईका दिन मास्कोमा पहिलो रूस-भ्रमणको क्रममा आफ्नो सुमधुर कण्ठबाट निसृत गीतको माध्यमबाट बुद्धको शान्तिसन्देश देश-विदेशमा संचार गर्न प्रयत्नशील नेपाली गायिका आनी छोयिङ डोल्मा लामाको नेपालीहरूद्वारा हार्दिक अभिनन्दन गरिएको थियो । विश्वमा जहाँ रहेका पनि नेपालीहरूलाई आफ्नो सुरिलो स्वरले मुग्ध पार्दै आएकी बौद्धभिक्षुणी आनीको मास्कोमा रहेका नेपालीहरूसंग भेटघाट गर्ने सदीच्छास्वरूप हामीले उनको मृदुवचन र सुमधुर गायन सुन्ने सुवर्ण अवसर पाएका थियौं… त्यतिखेर उनले मास्कोका संगीतप्रेमीहरूसमक्ष पनि आफ्नो गायनकला प्रस्तुत गरेकी थिइन् । यस सन्दर्भमा उनको आत्मवीवनीका प्रकाशकबाट पुस्तकको चौथो गातामा अंशतः यस्तो उद्गार प्रकट गरिएको छ : ‘मास्कोको चलचित्रकर्मी भवनको श्रोतावृन्दद्वारा खचाखच भरिएको प्रक्षाकक्षमा उनको स्वर यसरी गुञ्जायमान भयो, मानौं भित्ताहरू छेडेर आकाशतर्फ हुर्रिन लागेकोरूसमा होस् । हाम्रो रूपरङ्गबट एकदमै भिन्दै देखिने तिब्बतेली भिक्षुणीको गीतमा के भनिएको थियो ? आफ्नो मातृभूमिभन्दा यति टाढा रूसमा रहेका स्रोताहरूसम्म उनले कुन सन्देश दिन चाहेकी थिइन् ?
उनले ‘फूलको आँखामा फूलै संसार ! काँढाको आँखामा काढै संसार !’ भन्ने बोलको गीत पनि गाएकी थिइन् । मेटामोटी रूपमा त्यसको अनुवाद गर्ने हो भने मानिसले कस्तो जगत्मा जिउने भन्ने कुराको चयन स्वयं आफैले गर्दछ भन्ने यसको तात्पर्य हुन्छ । मास्कोका स्रोताहरूलाई आनी छोइङ्ग द्रोल्माले यस्तो महत्वपूर्ण बुद्धवचनद्वारा सम्बोधन गरेकी थिइन् र यस पुस्तकका पाठकवृन्दलाई पनि उनले यही सन्देश दिन चाकेकी छन्’ । अनि दोस्रोपल्ट मास्कोमा सम्पन्न छैठौं गैरआवसीय नेपाली सम्मेलन -२३-२५ जुलाई २०११) को क्रममा सम्मेलनकक्षमा हामी संगसंगै बस्न पुगेका थियौं ।
पुस्तकको शीर्षक रूसी भाषामा किन ‘चिन्हाङ्किता’ राखिएको होला ? यस्तो जिज्ञासा अनायासै उत्पन्न हुनु अस्वाभिक हुँदैन । किताब हातमा लिनासाथ मैले मनमनै आफैलाई पनि यो प्रश्न दिएको थिएँ । तर उनको कठिन बाल्यकालबारे सुरुको यसै शीर्षकको पहिलो परिच्छेद पढेपछि यसको रहस्य स्पष्ट भइहाल्दछ । विगत शताब्दीको सन् साठीको दशकतिर तिब्बतको कामा इलाकाबाट शरणार्थीको रूपमा भारत पुगेर पछि नेपालको राजधानीको प्रसिद्ध तीर्थस्थल बौद्धनाथमा आश्रय लिन पुगेका धातुका मूर्तिहरू बनाएर जीविकोपार्जन गर्ने आफ्ना झडङ्ग रिसाइहाल्ने (जाँड खाएर घर फर्केको साँझमा त आफ्नी पत्नीलाई चुट्न समेत बाँकी नराख्ने) पिताबाट उनले कुनै दोष नै नभए पनि चुटाई खानुपर्दथ्यो । एकपल्ट पीठो भर्ने क्रममा छोइङ्ग (घरमा बोलाउने नाउँ पोमो) ले समातिराखेको बोराबाट केही पीठो भुइँमा झर्न गएछ र यसैबाट उत्पन्न झोंकमा उनले हातमा लिइराखेको धारिलो बिट भएको पित्तलको गिलासले टाउकोमा हिर्काइदिएका थिए । छोरीको  निधारबाट रगत बग्न थालेको देखेपछि मात्र उनले झर्केर नै भए पनि रगतको बहावट रोकिदिने प्रयास गरेका थिए । आफ्नो मुडुलो टाउकोमा अझै पनि त्यस चोटबाट लागेको खतको चिन्ह नमेटिएको सन्दर्भमा उनले लेखेकी छिन् : ‘ त्यो दिन म कदापि बिर्सने छैन । अद्यापि मेरो निधारसम्मै पुगेको चार सेन्टिमिटर जति लामो त्यो खत मेटिएको छैन । मलाई थाहा छ, मनिसहरू त्यो चिन्हछाप कसरी त्यहाँ पर्न गयो होला भनी अडकलबाजी लगाउँछन् । मेरो मुडुलो शिरमा खतको लाम्चो चिन्ह तडकारै देखिन्छ । यदाकदा मानिसहरू त्यो चिन्ह कसरी पर्न गयो भनी मसंग सोध्ने समेत गर्दछन्…’ (पृ. २१) । यसै खतको आधारमा रूसी भाषामा प्रकाशित पुस्तकले ‘चिन्हाङ्किता’ भन्ने शीर्षक पाएको हो, यद्यपि फ्रेन्च भाषामा प्रकाशित शीर्षकको अर्थ हुन्छ ‘मुक्तिका लागि मेरो आवाज’  !
यस आत्मजीवनीमा भूमिका, प्रस्थावना र उपसंहारका अतिरिक्त आनी छोइङ्गको जीवनपथका खुडकिलाहरूको अनुबोध गराउने क्रमश: चिन्हाङ्किता, कान्छी बहिनी ब्य्रुसी ली, आश्रयको खोजमा, मुक्ति, पुनर्जन्म, प्रियपात्र, पतन, बादलमाथि, यौवनता, कमजोरी र क्षमता, एकली, जीवनतर्फ फिर्ती, विदेशयात्रा, आर्यतारा स्कूल, छोरो, महात्मासंग भेट, शिखरतर्फको बाटो, आइतवारको मरण, टुहुरी नामक शीर्षकका १९ परिच्छेदहरू छन् ।
सानै उमेरदेखि भाइहरूको स्याहारसुसारमा आमालाई सघाउनुका साथै बुवालाई पनि सक्दो मद्दत गर्न नचुके तापनि प्रताडित हुनुपरेकोबाट मुक्तिको खोजमा उनी १३ वर्षको उमेरमै बौद्धविहारमा शरण लिन पुगेकी थिइन् । भिक्षु यामगोन कोङ्गत्रुल रिन्पोछेले मन्त्रोच्चारणका साथै चुल्ठो काटिदिएर आनी कर्मा छोइङ्ग द्रोल्मा नाम दिई उनलाई भिक्षुणीको दीक्षा दिए । आनीको हैसियतले शिवपुरीमाथि रहेको नागी गुम्बामा बस्न थालेपछि उनले बौद्धगुरु तुल्कु उर्गेन रिनपोछेबाट बचपनमा वञ्चित हुनुपरेको पितृस्नेहको क्षतिपूर्तिको रूपमा असीम माया पाइन्  ।
भिक्षुत्व ग्रहण गर्नुको एउटा कारणबारे आनीले एक ठाउँमा लेखेकी छन् : ‘दश वर्षको उमेरमा नै मलाई विवाह गरेपछि लोग्नेको भान्से-दासी बन्नुपर्नेछ भन्ने राम्रै थाहा भइसकेको थियो । नारी बन्नै नपाउँदै मैले पुरुष आधिपत्यको विरोध गर्न थालिसकेको थिएँ । तर भिक्षुणी बनेपछि यो समस्या स्वतः हल भएर जानेछ, किनभने ती पुरुषहरू जसको सान्निध्यमा म बौद्धविहारमा हुनेछु, नारीप्रति वास्तविक सम्मानको भावना राख्तछन् । त्यसमा पनि तुल्कु उर्गेन रिनपोछे त एकदमै विशिष्ट हुनुहुन्छ । उहाँसंगको पहिलो भेटमा नै मैले यसको राम्रो अनुभव गरें…’ (पृ. ५१-५२) ।
भिक्षु-भिक्षुणीहरूले बौद्धविहार त्यागेर विवाह-बन्धनमा बाँधिन सकिने प्रावधान हुँदा तरुणी आनीलाई पनि विवाहको प्रस्ताव आउनु स्वाभाविकै थियो । तर उनले आजन्म ब्रह्मचारिणी नै रहने अठोट गरिसकेकी थिइन् । आनीले युवतीसुलभ आफ्नो प्रेमप्रसङ्गको पनि इमान्दारीपूर्वक चर्चा गरेकी छन्, यद्यपि त्यो प्रेमाङ्कुर भावनात्मक चरित्रको मात्रै थियो । उनले एक ठाउँमा लेखेकी छन् : ‘…नागी गुम्बामा मैले एकजना यात्राप्रेमी भिक्षुलाई भेटें । मलाई ऊ निकै मन पर्‍यो । मैले उसलाई तीन वा चार पटक मात्र देखें । ऊ आफ्नो गुरुको साथमा केही दिनका लागि मात्र हाम्रो विहारमा आएको थियो । मैलै उससंग एकपल्ट पनि कुराकानी गरेकी थिइनँ । परन्तु एक दोस्रालाई देख्दा हामी नजरको भाषा सहजै बुझ्न सक्तथ्यौं । कम्तीमा पनि मेरा लागि… भिक्षु निकै हिसी परेको थियो । स्वच्छ र चिल्लो त्वचा, सेता दन्तलहर, दयाद्र मुस्कान ! हामीहरू बीच विहारको साँगुरो करिडोरमा हिंड्दा बाहुलाको आकस्मिक स्पर्श, चञ्चल दृष्टिपात, अनायासै एक अर्काउपर परेको तीखो नजरको हलुका स्पन्दन, हावामा फैलिएको एक किसिमको मलाई मादकता प्रदान गर्ने सुगन्धसिवाय अरु कुनै पनि अनुभव भएको थिएन… घुमन्ते युवा भिक्षुलाई देख्दा मेरो मुटुको धडकन निकै तीव्र भएको थियो…’  (पृ. १११-११२) ।
उनको प्रेमप्रसङ्ग यत्तिकैमा सीमित रहृयो । तर नारीसुलभ मातृत्वको वात्सल्यभाव पोख्न एक टुहुरो बालक सोनाम धोर्जेलाई धर्मपुत्रको रूपमा ग्रहण गरेर उसको अन्धकारमय भविष्यमा ज्ञानको ज्योति भरिदिइन् भने आफूले जस्तै वाल्यकालमा दुःख पाई बौद्धविहारको शरण लिन पुगेका किशोरी भिक्षुणीहरूको लालनपालन र शिक्षादीक्षाको लागि आफ्नो सम्पूर्ण सीप र श्रम लगाएर फर्पिङनेरको  एक रमणीय डाँडामा ‘आर्य तारा स्कूल’ को स्थापना गरिन् ।
भारतमा बसोवास गरिरहेका अफ्नो एकजना भाइबाट छोरीलाई पढाउनर्ुपर्छ भन्ने उपदेश पाइएको हुँदा उनका बुवाले बौद्धस्थित एउटा स्कूलमा भर्ना गरिदिएकाले आनीले थोरबहुत आधुनिक शिक्षा पनि हासिल गर्ने मौका पाएकी थिइन् । यसले पनि आनीको व्यक्तित्व विकासमा निकै प्रभाव पारेको थियो भन्नुपर्दछ । नागी गुम्बामा आनी तारा र ज्ञानतारा नामकी सङ्गिनीहरू र अन्य बौद्धभिक्षुहरूसंग मात्र उनको सङ्गत सीमित रहेको थिएन । त्यहाँ बौद्धधर्मप्रति आकर्षित युरोप र अमेरिकाका गायक र संगीतज्ञहरूसंग समेत उनको भेट भयो । यो भेटघाटले उनको व्यक्तित्वको निर्माणमा कम महत्व राखेको थिएन भन्दा अत्युक्ति होवैन । उदाहरणार्थ, केही वर्षेखि नागी गुम्बामा बस्दै आइरहेका अमेरिकन आन्द्रेआसले सोल्ट-लेइन-सिटीका कुस्तीबाज प्रोफेसर जेर्री गार्नेरसंग परिचित गराइदियो र आनीले उसबाट पनि कुस्तीको सामान्य ज्ञान हासिल गरिन् ।
चिनियाँ मूलकी बौद्धधर्माबलम्बी महिला लिम हृसीउ मेईको निम्तोमा आनीले गुरुको अनुमति लिएर पहिलो पल्ट सिंगापुरको यात्रा गरेकी थिइन् र आमाको निम्ति सुनको गहना उपहार ल्याएकी थिइन् । त्यस क्षणको सम्झना गर्दै उनले लेखेकी छिन् : ‘मैले आमाको चुल्ठो माथि उठाएँ र गलामा सुनको सिक्री लगाइदिएँ । जीवनमा पहिलोपल्ट मसंग आमालाइृ वास्तवमा नै महँगो केही उपहार किन्नका लागि प्रशस्त पैंसा थियो । सबै पूर्वेली महिलाहरूजस्तै आमा पनि सुनको गहना मन पराउँथिन् । उलाई उनको हषिर्त आँखामा नजर गाडेर हेर्नमा आनन्द आइरहेको थियो (पृ. १०३) । बुवाको लागि नगदनारायणकै कोसेली बोकेर आएकी थिइन् आनी । उनी लेख्छिन् : ‘जीवनमा पहिलोपल्ट मैले केही न केही सञ्चय गरें । त्यहाँ मैले प्रशस्त दानदक्षिणा प्राप्त गरें । बौद्ध परम्पराअनुसार मानिसहरू आफ्नो मङ्गलकल्याणका लागि प्रार्थना गरिदिने आशयले भिक्षु-भिक्षुणीहरूलाई कोसेली दिन्छन् । सिंगापुरवासीहरू निकै उदार रहेछन् । मैले त्यहाँ एक हजार डलर जति संग्रह गर्न सकें । नोटहरू मिलाएर सङ्गनिीले उपहार दिएको रातो ब्यागमा हालेको थिएँ । हरेक बाजी त्यसमा डलर थन्क्याउँदा म बुवालाई सम्झन्थें र फर्केपछि नोटको बिटा नै उहाँको हातमा सुम्पिदिन चाहन्थें…’ (पृ. १०८-१०९) ।  आफ्नो लागि चाहिं आनीले दुर्इ जोर जुत्ता किनेर ल्याएकी थिइन् । यस पर्रि्रेक्ष्यमा नारीसुलभ स्वभावको पर््रदर्शन गर्ने उनको भनाइ थियो ः ‘म भिक्षुणी नहुँदी हुँ त निश्चय नै फेसनको शिकार (fashion victim) बन्थें हुँला !..’ (पृ. १०७) ।
पछि उनले एसिया, यूरोप, अमेरिकाका विभिन्न भागहरूमा पुगेर आफ्नो आध्यात्मिक एवं सात्विक गायनको माध्यमबाट नेपललाई चिनाइन् । अमेरिकाको मिन्नेआपोलिसका संगीतज्ञ स्टीभ टिब्बेट्सले उनको गीतको पहिलो अल्बम (सन् १९९७) प्रचारमा ल्याउनुका साथै उसैको  निम्तोमा आनीले संयुक्त राज्य अमेरिकाको पनि यात्रा गरिन् । त्यस रोमाञ्चकारी यात्राको संस्मरण यस्तो छ : ‘एक महिनामा हामीले २० वटा कन्सर्ट प्रस्तुत गरेका थियौं । एक सहरबाट अर्को सहर जाने क्रममा हामीले थुप्रै समय मिनीबसमा बितायौं (उदाहरणस्वरूप मास्साच्युसेट्सदेखि मिन्नेसोटसम्मको बाटो पार गर्न २७ घण्टा लागेको थियो) । हाम्रो टोली ६ जनाको थियो : नेपालका तीन युवतीहरू, स्टीभ र उसको पुरानो साथी, प्रयोगात्मक संगीतप्रेमी ड्रमबादक मार्क आन्डेरसन र मार्कको सहयोगी र भाइ कोडी ।  अक्सर राती हामी मोटेलमा वास बस्तथ्यौं र त्यसको भाडाको रूपमा स्टीभ र मार्कले त्यहीं नै कन्सर्टको आयोजना गर्दथे । र हामी भिक्षुणीहरू बिस्तारबिस्तार यस अनौठो देशको उद्घाटन गर्दथ्यौं । मेरी सङ्गिनीहरूको निम्ति यहाँ जे पनि नौलो थियौ : सडकको आवाज, रेष्टुराँको झिलिमिली, चमकदार शोकेस, दर्शकहरूका विस्मित आँखा जो हाम्रो गाढा गेरुवा लुगा, नाङ्गा हात र मुडुलो कपाल देखेर विश्मयपूर्वक हामीलाई पुलुक्क
नहेरी रहन सक्तैनथे…’ (पृ. १४७) ।
यसै गरी फ्रेन्च फोटोग्राफर पिएर-इव जिनेको निम्तोमा उनले पेरिसको यात्रा गरेकी थिइन् र त्यहाँ अमेरिकी सिने-कलाकार स्टिभेन सिगलको सहयोनबाट विश्वविख्यात फ्रेन्च गायिका सेलिन डिओनको कन्सर्ट पनि हेर्ने अवसर पाएकी थिइन् । उनको जीवनमा यस्ता ‘अनुपम क्षणहरू’ प्रशस्तै छन् । उदाहरणार्थ, आनी छोइङ्गले सन् २००० मा संयुक्त राष्ट्रसंघद्वारा न्यूयोर्कमा आयेजित नारी अधिकार विषयक सम्मेलनमा पनि भाग लिएकी थिइन् भने सन्  २००१ मा भारतमा शरणार्थी रहेका बौद्ध धर्माबलम्बीहरूका गुरु दलाई लामासंग भेटेर फोटो समेत खिचाउने सम्भावना पाएकी थिइन् । यस अविस्मरणीय भेटबारे उनले अशतः लेखेकी छिन् : ‘…दलाई लामासंगको भेटपछि आफ्नो वरिपरि रहेकाहरूको सेवा गर्ने भावना मेरो मनमा भरिपूर्ण भएर आयो । म मानिसहरूको निम्ति अझै बढी उपयोगी बन्न सक्छु भन्ने मलाई थाहा छ । सक्रिय हुने, श्रम गर्ने र अगाडि बढ्ने असीम चाहना बोकेर म काठमाडौं फर्कें’ (पृ. १९३) ।
उनले आफ्ना जन्मदाताहरूलाई सुखी तुल्याउन सानो आँगनसहितको दुर्इतले घरको निर्माणमा मद्दत गरेकी थिइन् । आफ्ना बुवासंग पनि उनको सम्बन्ध पहिलेको जस्तो कटु रहेको थिएन । अनि आमाबाट त उनले जीवनभरि सदैव स्नेह र सान्त्वना मात्र पाउदै आएकी थिइन् । तर विडम्बना कस्तो रह्यो भने उनका बुवाले उनकै काखमा अन्तिम सास फेरे भने उनको अनुपस्थितिमा उनकी ममतामयी आमाको मृत्यु हुन पुग्यो…।
नेपालमा स्वास्थ्यसेवाको स्तर निकै निम्न रहेको हुँदा मधुमेह र रक्तविकारसम्बन्धी रोगीहरूको उपचारार्थ एउटा अस्पतालको निर्माण गर्ने उनको लक्ष रहेको छ । जे-जस्तो कठिनाइको सामना गर्नुपरे पनि हरेस नखाई आफ्नो लक्षप्राप्तिमा अडिग रहने आनी छोइङ्गको लगनशीलता त्यसै खेर जाने छैन । आत्मजीवनीको अन्त्यमा उनले यसैतर्फ सङ्केत गर्दै लेखेकी छिन् : ‘यसरी हामी पाइलापिच्छे पाइला सारेर नै लक्ष्यको नजिक पुग्न सक्तछौं… दुर्लङ्घ्य पहाडमाथि विजय प्राप्त गर्ने चाहना मात्र हुनुपर्दछ,  तिमी अवश्य नै त्यसको टाकुरामा टेक्न सफल हुन्छौं । दृढविश्वास मात्र हुनुपर्छ । म जे भन्दैछु सो मलाई थाहा छ’ (पृ. २३८) ।
उनको गायिका व्यक्तित्वको निर्माणमा विदेशी संगीतज्ञहरूको मात्र नभई स्वदेशी स्रष्टाहरूको समेत योगदान रहेको छ । दृष्टान्तको रूपमा कवि दुर्गालाल श्रेष्ठ (यस पंक्तिकारका कलेजका सहपाठी र आत्मीय साथी) को नाम लिन सकिन्छ जसले उनको नैसर्गिक स्वरको लागि गीतको रचनामा सहयोग गरेका थिएँ । यस सन्दर्भमा आनी छोइङ्ग लेख्तछिन् : ‘…मैले आफ्नो परम्परागत गायनमा विविधता ल्याएर त्यसलाई बढी आधुनिक तुल्याउने विचारप्रति समर्थन जनाएँ, तर आध्यात्मिक भावको संरक्षणमा जोड दिएँ । म चाहन्छु, मेरा गीतहरूले सकारात्मक भावना जगाओस्, मानिसहरूलाई बढी उत्कृष्ट तुल्याओस् ! मानिसहरूसित म प्रेम र आशाको कुरा गर्न चाहन्छु र हामीमध्ये प्रत्येकमा परिवर्तन आउन सक्तछ भन्ने विश्वास दिलाउन चाहन्छु । जतिखेर म गाउँछु, त्यतिखेर म आफूलाई बौद्धमार्गी, हिन्दू अथवा इसाई भन्ठान्दिनँ । म मानवको गाथा गाउँछु…’  (पृ. २०६) ।
सन् २००४ मा ‘कल्याणको क्षण’ (“Moments of Bliss”) शीर्षकमा नेपाली गीतहरूको उनको चौथो (नयाँ) अल्बम निस्कियो । त्यसमा समाविष्ट गरिएको कवि दुर्गालाल श्रेष्ठरचित कवितामा आधारित ‘फूलको आँखामा फूलै संसार’ भन्ने बोलको गीत देशभित्र र बाहिर जहाँसुकै रहेका नेपालीहरूको प्रिय गीत बन्न पुग्यो । यस गीतले उनलाई ‘उत्कृष्ट नारी नायिका’ भन्ने ख्याति र पुरस्कार पनि प्रदान गर्‍यो । यस सन्दर्भमा उनले व्यक्त गरेकी छिन् : ‘के स्वीकार गर्न चाहन्छु भने आफूलाई संगीत जगत्को एक चम्किलो तारा बनेको भावनाले मलाई आनन्द दिन्छ । तर यो क्षणभङ्गुर हो भन्ने मलाई राम्रो थाहा छ । मैले अझै संसारमा परिवर्तन ल्याउन सकेकी छैन । केवल यस्तो सत्कार्य मात्र उच्च मूल्याङ्कनको विषय हुन सक्तछ । तैपनि पुरस्कृत भएकोमा मेरो आत्माभिमानमा काउकुती लाग्दछ । के यसको अगाडि निस्पृह रहन सकिन्छ र ? यस बखत पनि सधैंजस्तै म आफ्ना गुरुको स्मरण गर्दछु, उनको असीम संयम र सादापनको सम्झना गर्दछु र प्रशंसा र सम्मानप्रति उनको धारणाको संस्मरण गर्दछु । अनि मेरो गर्व त्यसै विलीन भएर जान्छ । संशयको क्षणमा मलाई फेरि पनि मेरा गुरुले मद्दत गर्नुभयो, आफ्नो दयालुपन र बौद्धिकताद्वारा सहयोग गर्नुभयो’ (पृ. २०९) ।
आफ्ना प्रिय गुरु तुल्कु उर्गेन रिन्पोछेप्रति आनी छोइङ्गको असीम आस्था रहेको छ । उनैको प्रेरणा र आशीष पाएर उनले गुम्बामा समेत धार्मिक गायनमा भाग लिने गरेकी थिइन् । आनीको ज्ञानपिपासु जिज्ञासु स्वभावले गर्दा उनी सामान्य खालको बौद्धभिक्षुणी मात्र नरही नेपालबाहिर समेत ख्यातिप्राप्त व्यवहारपटु एक चल्तापूर्जा युवती गायिकाको रूपमा समेत प्रख्यात भइन्, यद्यपि भन्नेहरूले त उनलाई ‘व्यापारी भिक्षुणी’ (पृ. ११०) भन्न समेत बाँकी राखेनन् ।
आनी छोइङ्गले आफ्नो आत्मजीवनीको वर्णनक्रममा ठाउँ-ठाउँमा जन्मभूमिको प्राकृतिक सौन्दर्यबारे भावनात्मक उद्गार पेखेकी छन् । उदाहरणार्थ, निम्न कथनकै चर्चा गर्न सकिन्छ : ‘मलाई विश्वास छ, नेपालको आकाश सबभन्दा सुन्दर छ । मैले गुम्बामा सात वर्ष बिताएँ र हरेक दिन त्यहाँ रातको आकाश देख्दा मेरो आँखा रसाउने गर्दथ्यो । म बसेको बेला आकाशका ताराहरू मेरो गोडामुनि पसारिएको दामी गलैंचातुत्य शहरका बिजुलीबत्तीहरूसंगै मिलेर चम्कन थाल्दथे र म आफूलाई रातको आकाशमा उडिरहेको अनुभूत गर्दथें…’ (पृ. ११३) ।
एक भिक्षुणी भएर पनि आनी छोइङ्गले उडेर विश्वका विभिन्न भागहरूमा पुगी आफ्नो सुमधुर स्वरले जन्मभूमि नेपालको सम्पन्न संस्कृतिको परिचय दिइरहेकी छन् । उनको उडान निरन्तर जारी रहोस् !

NEPALI HORIZONS बाट..