सँस्मरण डायरीबाट


मनका चहानाहरू अनगिन्ति हुन्छ्न । हामी समयको घेराबन्दीमा बाँचिरहेको मानव, समयसँग चलिएन भने जिन्दगीको अर्थ रहदैन सायद । प्रायजसो हरेक समयमा परिवर्तन भैरहने मानविय चाह, चाहहरूको एक चाङ्, चाङ भित्रका हरेक जटिल परिस्थिति, आदि इत्यादि गर्दै जिन्दगीका हरेक बसन्तहरू वितिरहेको हुन्छ । तै पनि तिनै चाहहरूको चाङबाट समय मिलाएर पुरा गर्न सकिने केहि चाहहरू समयसँगै बहक्याउँदा भरपूर आनन्द आउने रहेछ । साँच्चै धेरै चाहहरू मध्येको एउटा चाह समयको विकराल परिस्थिति पार गर्दै गर्दा उसो त पुरा गरेरै छाडेँ ।
 
 धेरै दिन अगाडिदेखि कुमार दहालजीको निमन्त्रणा स्विकार्नै सकिएको थिएन । कुमार दाई अर्को कारक थिए त्यो चाह पुरा गर्न नसकिनु कि उहाँको विदा नै नहुने । तर दाईको कारणले मेरो यति ठूलो चाहना बाँझो राख्ने कुरा पनि त भएन? यसैले मैले जेरूसलेम जाने नै निर्णय गरेँ । यसका लागि सुमनजीलाई फोनमै भने र कुमार दहालजीको खबरपछि पक्कै गइनेछ भने । यो जानु भन्दा एक दिन अगाडिको कुरा थियो ।
   
शुक्रबार, मेरो छुट्टि करिव एकबजेदेखि नै शुरू हुन्छ । त्यो दिन पनि विहानै उठेर स्टाटस हालेँ –
“विहानै आकाशमा देखिएका काला बादलका धब्बाहरूको सँकेत पानी पर्छ भन्ने नै हो तर आक्कलझुक्कल सूर्यका किरणहरूपनि चिसो बतासलार्इ चिर्दै मेरो झ्यालको कप्चेराबाट भित्रै पसिरहेको छ । जे सुकै होस् जाडो मेोसम शुरू हुदैछ, जेरूसलेमको घुम्तीहरू नकाटेको पनि धेरै नै भो । समय मिलाएर आज जेरूसलेमको लङ्ग ड्राइभको प्लान छ । बुझ्नेले कुरो बुझिदिए आज एकपटक अवस्य पवित्र शहर जेरूसलेम पुगिनेछ ।”
 
फेसबुके स्टाटस सबैका मनपरि होलान् तर म अलि सम्वेदन भएर मात्रै स्टाटस हाल्छु ।  त्यसैलो होला मेरा स्टाटसमा त्यति कमेन्ट र लाइक पनि आउँदैन । फेरि कुरा बुझ्ने भन्दा अरूका लागि साँच्चै मेरो स्टाटस व्यर्थै पनि लाग्न सक्छ वा मातहतमा रहनेगरि कसैसँग मेल खान पनि सक्छ । यहि मेरो स्टाटस कुरा बुझ्नेले बुझेर इनबक्समा मेसेज आयो ।
 
ल अब मैले त कुरा बुझेँ है । ल आउनुहुन्छ त स्वागत छ यहाँलाई ! ल समय दिनुहोस् कति बेला आउनुहुन्छ । खबर पाउ है ।
कुमार दहाल, जेरूसलेम
 
नमस्कार हजुर, सुमन जी र म आउने प्लान छ ३ बजे तेल अभिभ भेटिएपछि अनि कति बेला हुन्छ हिडे पछि फोन सम्पर्क गरूँला नि । कुरा बुझिदिनु भएकोमा धन्यवाद । हरि मानन्धर, रिसोन लिच्योन

ओ के ल ल हुन्छ, वेलकम छ यहाँलाई......
कुमार दहाल, जेरूसलेम
 
धन्यवाद छ यहाँलाई
 हरि मानन्धर, रिसोन लिच्योन
 
तर अलि चाँडै निधो पाउँ न । यसो जाउलोको व्यवस्था हुन्थ्यो.... सकेसम्म चाँडै निधो पाउँ न है त...
 कुमार दहाल, जेरूसलेम

ए जाउलो बनाउँदै गर्दा हुन्छ । हामी २ जना आउँछौ हजुर । चिन्ता नमान्नुहोला । नत्र हामी आएर बनाउँदा पनि हुन्छ नि । हामी ५ बजेतिर त आइसक्छौ अनि बनाएर खाउँला नि । के हतार भो र? बरू मार्केट बन्द हुन्छ होला के के चाहिन्छ खरिद गर्दे गर्नुहोला ।
 हरि मानन्धर, रिसोन लिच्योन

ओ के ल ल हुन्छ ।
 कुमार दहाल, जेरूसलेम ।

कुमारजीसँगको कुराकानी सकिएपछि मेरो मनभरि हतारको बाढि उर्लन शुरू गरिहाल्यो । काम पनि त्यति नहुने तर खाना खानै कुर्नुपर्ने मेरो बाध्यताको अगाडि दैवको पनि केहि लाग्दैन । तर मैले न अलि चाँडो जानुपर्न कुरा राखेर आधा घण्टा अगाडि खाना खायौ । आधा घण्टा अगाडि खाना खाइयो भने मैल एक घण्टा अगाडिको गाडी पाउँछु । त्यसैले छिटो छिटो खाना खाईवरी घरको काम सकेर तखाना पुँगे ।

तखानामा केहि बेर बस कुर्ने वित्तिकै गाडी आयो । गाडीमा बसेँ । गाडी गुड्न शुरू भो । म पनि गाडीको रफ्तारसँगै कहिले जेरूसलेमको पुरानो शहर, शहरको गेटमा अवस्थित डेविड टावर, कहिले सुनको मन्दिर आदि आदिमा मनभरि खुशीको लहर बोकेर दौडिरहेँ ।

गाडीमा पसेपछि मलाई सबैभन्दा पहिले फुच्चे मोबाइलबाट एयरफोन निकालेर कानमा घुसार्नै पर्छ । मलाई सबैभन्दा मन पर्ने सिलोन डियोनको टाइटानिक फिल्मको टाइटल सङ् हो । त्यहि गीत हजारौँ पटक सुन्दा पनि नयाँ जस्तै लाग्छ । त्यो भन्दा पनि मस्तिष्कभरि एक खालको प्रेमिल तरङ्ग पैदा गर्छ र मनलाई उत्तेजित पार्छ । त्यसैले पो हो कि खै कुन्नि, त्यो गीतप्रति यति साह्रो मोह बढेको ?

जब मोवाइलबाट एयरफोनको ज्याक हुदै गीतका तरङ्गहरू कानमा घुसारिएका एयरबक्स छिचोलेर कानका एयरड्रमहरूमा छताछुल्ल पोखिन्छ, अनि तिनै गीतका शब्दहरूसँगै म  ज्याक (लियोनार्दो) बनिहाल्छु भने सधै रोज (केट विन्सलेट)को खोजीमा भौँतारिएको अनुभव गर्छु । यति मात्रै हो र... रोज (केट विन्सलेट)ले मलाई जेरूसलेमको गेट अगाडि रातो गुलाव लिएर पर्खिरहेछिन् जस्तै भान हुन्छ ।

आखिरी मन न हो, कहिले के सोचिरहन्छ कहिले के? जे सुकै होस् मन चैँ सधै नयाँ जेनेरेशनमै रमाउँन खोज्दोरहेछ कि क्या हो ! होइन कल्पना हो यो, मान्छेसँग कल्पना हुनै छाड्यो भने दिमागी हालत विग्रेको सूचना प्रवाह गर्छ भन्ने लाग्छ । त्यसैले हरेक पटक म ज्याक भएको कल्पना गर्नु, कल्पनामै डुब्नु र कल्पनामै रोजसँग भेटिनु, छुट्टिनु सबै सबै मानसिक चेतका कुराहरू हुन् ।

तेलअभिव पुगेको पत्तै भएन । हार्चियोनमा उत्रेँ । अनि सरासर कोठातिर लागेँ । समय केहि बाँकी नै थियो । सुमनजीलाई फोन हाने । वहाँ बल्ल घरबाट निस्कदै हुनुहुँदोरहेछ । मैले जेरूसलेम जाने कुरा राखेँ । वहाँले हिजो कुरा हुँदा हजुरले फेरि पछि खबर गर्छु भन्नुभएको होइन भनेर उल्टै मलाई भन्नुभो । जे होस् जाने कुरा भो हजुर छिटो आउनुस म तेल अभिवमै छु भने । सुमनजीले कम्तीमा एक घण्टा लाग्छ भन्नुभो ।
  
म मेरो व्याग लिएर निस्के । व्याग एडभान्समा राखेँ र एकछिन तखानातिर टहलिन निस्के । लगभग घडिको घण्टा सूई ४ को सँकेततिर आकर्षित हुदै थियो । सुमन जीलाई फोन गरेँ । बाटोमा आउँदैछु भन्ने खबर पाए पछि मैले बसमै जाने र बस तखानाको ६ फ्लरबाट जाने कुरा सुनाए । हुन्छ भन्ने भएपछि म तखानाबाट बाहिरिएँ । बाहिर भने सिमसिम पानी परिरहेको रहेछ । यस्तैमा एडभान्स पुँगे ।  मेरो व्याग लिएँ । अनि सिमसिम पानीकै तालमा तखाना छिरेँ । छैठौ तलामा पुगेर म जेरूसलेम जाने ४०५ नम्बरको गाडी नजिकै भएको जानकारी दिएँ ।
  
गाडीको समय तालिका हेर्दै थिएँ । ४.२५ मा रहेछ । अर्को पनि थियो तर अलि ढिला हुन्छ कि भनेर यसैमा जान पाए भन्ने लाग्यो । बाहिर निस्के । चुरोट सल्काएँ । घडिले ४.२० हानिसकेको थियो । सुमन जी आउनुभो । चुरोट बाँडेर पियौँ । मलाई पानी नलिएकोमा पछुतो लाग्यो । सुमनजीसँग भने । सुमन जी तुरून्तै पानी लिन जानुभो । पानी लिएर आउनु भएपछि लगत्तै गाडीमा चढियो । अनि दुबै जना गाडीको रफ्तारसँगै लागियो जेरूसलेम, मनको शहरतिर ।
    
सदा भन्दा यो पटकको यात्रा अलि फरक भो । कारण सुमनजी साथमा हुनुहुन्थ्यो । केहि कुरामा दुःखी भएँ भने सुमनजी साथमै हुनुभएकाले खुशी पनि मानेँ । दुःख यसमा कि म सधै जेरूसलेम जाँदा एक्लै हुन्थे र उहि कानमा एयरफोन कोचारेपछि ज्याक बन्दै रोजसँगको मिलनमा हराउँदै हुन्थे । तर यसपाली त्यसो हुन पाएन । खुशी यस अर्थमा कि म यसपटक एक्लै चुपचाम बसिरहनु पर्ने थिएन । वा अनावस्यक काल्पनिक दुनियामा दिमाग घुमाएर बस्नुपर्ने थिएन ।
    
गाडी तखानाबाट हुर्रिँदै आइलोन नर्थ, अनि मोडिएर पूर्व बेन्गुरियनतिर लाग्यो । सुमन जी र म गाडीसँगै लाग्यौ बेन्गुरियन हुदै डाँडाकाँडा भरिएका इलाकातिर । जब डाँडाकाँडा आउँछ अनि मन एकपटक नेपाल र मेरै पोखराको सेरोफेरोमा रङमङ्गिन्छ । यसपटक पनि यसो भैछाड्यो । सुमनजीलाई डाँडाकाँडा र १९६५को लडाईमा प्रयोग गरिएका सामानहरू जो भित्ताहरूमा कलर लगाएरै संरक्षण गरिएको थियो, देखाउदै अगाडि बढिरह्यौँ । उहि डाँडाकाँडाका ओराली उकालीहरूमा पर्ने घुम्ती, इजरायली सुरा ड्राइभर, उहि रफ्तारमा ओराली झार्दै पुनः जेरूसलेमको गेट तिर उकालियौ । जेरूसलेम गेट आयो । जेरूसलेम गेट पार गरिसकेपछि जेरूसलेमको तखाना पुग्यौँ । आज शुक्रबार, साब्बात शुरू भैसकेकाले बसपार्क बाहिरै बसबाट ओरालियौँ । बसबाट ओर्लन मात्रै के पाएका थियौ, जेरूसलेमको चिसो सिरेटोले मुटु भित्रै स्पर्श गरि त हाल्यो । जकेट हाइनेक निकालेर शरीर ढाक्यौँ ।
    
अब कता जाने भन्ने थाहा थिएन । कुमार दहालजीलाई फोन गरेँ । वहाँले तखानाको खुड्किला झरेर ट्रेनको लिगै लिग आउनु भन्नुभो । मैले पुल माथि माथि नै आउन पाइन्छ? भनेर सोधेँ । कुमारजीले अँ मज्जाले पाइन्छ भन्नुभो । अहिले ट्रेन चालुभएदेखि मानिस आवतजावतका लागि ट्र्याक बनाइएको रहेछ । त्यहि बाटो हुँदै पुल नियाल्दै हिड्यौँ ।
    
साब्बातपूर्वको शुक्रबारको त्यो समय, पश्चिमी क्षितिजले सूर्यलाई लुकाउन खोज्दै थिईन् । हामी साँच्चै नै घमाइलो त्यो समयमा रमाइलो मान्दै जेरूसलेममा चल्ने नयाँ मेट्रो ट्रेनको लिग लिगै अगाडि बढिरह्यौँ । कुमार दहालजीले भन्नु भए अनुसरा एउटा ट्रेन स्टेशन पार गरेर पुनः अर्को ट्रेन स्टेशनतिर लाग्यौ । बेलुकीको समय, जेरूसलेमको यात्रा सुमनजीसँग फोटो क्याप्चर गर्दै हिड्दाको मजा यहाँ बयान गरेर साध्य नै भएन ।
   
केहि अगाडि पुगेपछि थोरै ओरालो अनि फेरि उकालो देखियो । अनि पुनः कुमारजीलाई फोन गरेर सोधेँ । क्या विजोग मेरा आँखाको पनि, वहाँ त हामी भन्दा केहि अगाडि उभिएर हात हल्लाईरहनु भएको पो रहेछ ।
   
अन्ततः कुमारजीसँग पनि भेट भो । सरासर कुमारजीको घरतिर लागियो । केहि ओराला खुड्किलाहरू पार गर्दै गएपछि वहाँको वासस्थान पुग्यौ । एकजना मेरै नाम भएका नयाँ साथीसँग भेट भो । वहाँ पनि नजिकै काम गर्नुहुँदोरहेछ र कुमारलाई भेट्न आउँदै गर्नुहुँदोरहेछ ।
   
कुमारजीको घरमा छिर्यौ । माथिल्लो तलामा पुगेर गफगाफ मै भुल्न थाल्यौ हामी चारै जना । कुमारजीले कफि बनाएर सर्भ गर्नुभो । जाडोमा तात्तातो कफि पिउनुको मजा भनिरहनु चै नपर्ला । यस्तै यस्तै कुराहरूमा समय वितेको चालै भएन ।
  
साँझ परिसकेको थियो । कुमार दाई र उमेश भाई साथमा नहुनुँमा खल्लो महशुष नभएको पनि होइन । तर उहाँहरूको कामको परिस्थितिले गर्दा साथ नहुनुलाई आत्मसात गरेर हामीले हाम्रो समय खेर फाल्न पनि त सक्दैनौँ । हो त्यसै भयो त्यो साँझ । बेलुकि अँध्यारोले छपक्कै छोपिसकेको थियो । हरि न्यौपाने जी आफ्नो काममा फर्किसक्नुभएको थियो । कुमारजी र म भएर चुल्होमा कोइला हाल्यौँ । कागजका पानाहरू र डफ्टी टुक्र्याएर अँगार बनाउन तिर लाग्यौ ।
 
बाहिर सिमसिम पानी परिरहेको थियो । पानी यदाकदा थोपाहरूको रूपमा झरिरहेकाले हामीले त्यसलाई बाल गर्यौ । बाहिर बरण्डामा टेबल रहेछ । टेबलमा चुल्यो राखेर कुमारजीले अगाडि नै तैयार पार्नुभएको पखेँटाहरू पोल्न थाल्यौँ ।
   
चिभास रेगेल, केहि दिन हो र! महिनौँदेखिको सत्कारमा उभिएको ब्राण्डेड ह्वस्की, कतिवटा हाम्रा बहानमा सकिईसक्नुभयो होला कुमारजीले । हामी आउने आशा मनभित्रै उब्जाएर सकिएका चिभास रेगेलका कहानी अलि लामै होला । तर यसपाली भने बाण्डेड नै थियो ।
 
जब चुल्होमा अँगार तातिदै रातो हुदै गयो, माथि सेकिएका विङ्ग्सहरूबाट पोलिएको भन्ने बास्नाहरू नाक भित्रै पस्न थाले । विस्तारै अँगारको रापमा सेकाउँदै गरिएका पखेँटाहर तैयार हुदै थिए अनि कुमारजी र सुमनजील चिभास रेगेलको बोतल अगाडि ल्याउनुभो । ग्लासमा भने सुमन जी झुक्किनुभो । कफि गिलास ल्याउनुभो तर पछि कुमारजीले असली ह्वस्की ग्लास ल्याउनुभो । त्यतिन्जेल पखेँटाले स्वाद भरिसकेको थियो । चिभास रेगेलको चुस्कीसँगै पखेँटाको स्वादले सिमसिम परेको पानीलाई आकाशतिरै फर्काइदिएको थियो ।
 
पखेँटा पोल्दै, चिभास रेगेलको चुस्की लिदै थियौँ । तीन जनाले केहि थप पेगहरू सकिईसक्दा पखेँटा पोलेर सकियो । अनि नाक्निकियोट पनि आगोमा तताएर खाने कुरा भो । त्यसै गर्यौँ । चिसो रातमा आगोको नजिक बसेर, चिभासको चुस्कीले भित्रै देखि शरीर तताई सकेको थियो । पहिले लगाएका बाक्ला हाइनेक, ज्याकेटले गर्मी बढाइरहेको थियो । कुराकानी गर्दै साथीभाईहर यसरी बसेर मोज गर्नुको मजा सायदै कमैलाई मात्रै थाहा होला । जो हामीले अनुभव गरिरहेका थियौँ ।
 
भित्र किचन टेबलमा बसेर पुनः खानपीन शुर गरिसकेका थियौँ । सुमनजी गीत गाउन पाएपछि हतारिने मान्छे हामीले गीतको कुरा अगाडि बढाउने वित्तिकै तात्तिनुभो । कुमार जीको पनि स्वर ठिकै रहेछ । आफ्नो त स्वर हालेर गीत शुरू गर्ने वित्तिकै गला फाट्न शुरू गरिहाल्छ । नजिक बसिरहेका चराचुरूङ्गी पनि डराएर भुरूर्रर उड्थे । सायद त्यो रातमा बाहिर कतै बास बसेका थिए भने पनि भागिसेकेका थिए होलान् ।
 
श्रीराम भाइको एउटा गीत मन पर्छ मलाई । ओम प्रसाईजीले एल्बममा अनुबन्धित पनि गरिसक्नुभएको थियो । एल्बमबाटै सजिएको उक्त गीत कुमार जी र सुमनजी गाउन थाल्नुभो । मैले मेरो क्यामेराबाट भिडियो क्याप्चर गरेँ ।

चिभासको चुस्की अन्तिमतिर जाँदै थियो । समय भने जिउँका तिउँ थियो । रात सबै सिङ्गै बाँकी थियो । चिभासको रौनकता नै यसको विशेषता हो । मादकता कम र रौनकता ल्याउने यसको गुण नै हो । त्यसैले त करीव बोत्तल नै सकिईँदा समेत हामीमा मात चढेको आभास नै थिएन । आखिरी ह्वस्की न हो नलाग्ने भन्ने चैँ त हुदै होइन । फेरि पनि जति पिएका थियौँ त्यसको अनुपातमा कम मात्रै असर गरिरहेको थियो ।
 
हामी कुमारजीकोमा भएको कुरा कुमार दाईलाइ थाहा भैसकेको थियो । बेलुकि डलरको रूख ढालेर बाहिर निस्कने क्रममा फोन गर्नुभएको थियो । कुमारजीले कुमार दाई र उमेशभाइको अनुपस्थितिलाई हृदयंगत नगरिरहनुभएको पनि होइन । तर समयको कालचक्र, विदेशीको स्यहारसुसारको काम यस्तै यस्तैलाई मनभरि राखेर साथीहरू सँगै नहुनुको आभासलाई परैदेखि धकेलिरहेका थियौँ । यसै बीच कुमार दाईको फोनले अलि बढि आशा पलायो । उमेशजीलाई भनेर उहाँहरू पनि जेरूसलेम आउन रिक्वेस्ट गरियो ।
 
कुमारजीले वहाँको ल्यापटप मेरो नजिक ल्याइदिईसक्नुभएको थियो । वहाँको फेसबुक प्रोफाइल लग अन नै भएकाले चलाउन बन्देज गर्दै आफ्नै खोल्नु भन्दै हुनुहुन्थ्यो । फेरि पनि केहि छैन सबै हेर्न सकिने समेत जानकारी दिदै हुनुहुन्थ्यो । तर म, अलि फरक मान्छे, मलाई कसैको पर्सलन सामान, र पर्सनल कुराहरू केहि पनि हेर्न मन नै मान्दैन र लाग्दैन पनि । अर्काको पर्सनल म्याटरमा म त्यति ध्यान नै दिदिन । त्यसैले कुमारजीले भन्नुभन्दा पहिले नै वहाँको फेसबुक प्रोफाइन लग आउट गरिसकेको थिएँ । तुरून्तै मेरो फेसबुक प्रोफाइल लग अन गरेँ । अनि क्यामेराको ज्याक ल्यापटपमा जोडेँ । केहि अगाडि कुमारजी र सुमनजीले गाउनुभएको गीत कम्प्यूटरमा अपलोड गर्न लागेँ ।
 
मेरो स्टाटसमा यस्तो लेखेः “यतिबेला नेप्लिज इन इजरायल समूहमा २२२२ साथीहरू साथमा आउनुभो । उहाँहरूकै लागि श्रीराम भाइको यो गीत पेश गरेँ है ।” अनि यसैका साथभा कुमार जी र सुमनजीले गाउनुभएको गीत क्यामेराबाट सिधै फेसबुकमा अपलोड गर्न लागेँ ।
 
अपलोडका लागि धेरै समय लिने देखियो । यता कुमारदाई र उमेशजी तेलअभिव छाडिसकेका थिए । उहाँहरूलाई लिन जाने कुरा भो । तिनै जना गीत अपलोडलाई रेगुलर राखेर बाहिर निस्कियौँ ।
 
बाहिर निस्किसकेपछि ११ बज्न बाँकीरहेकाले एएमपिएम कतै पाइन्छ भने जाउँ भने । खै ट्याक्सीलाई सोधेर कता हो जाने कुरा भो । ट्याक्सी आयो । एएमपिएम भनेर सोध्यौ । हुन्छ म लगिदिन्छु भन्यो । खै कता हो जर्जस्ट्रिट तिर जस्तै लाग्दै थियो पसल त रहेछ तर एएमपिएम नभएर अरू नै ।
 
फेरि पनि पसल पुग्दै गर्दा ११ बजिसकेको थियो । केहि मिनेटको कुरा त हो दिन्छ होला भन्ने सोचेर अर्को चिभास रेगेल माग्यौँ । दिन नमिल्ने कुरा भनिरह्यो । हुन त इजरायलमा यहाँका मानिसहहरू डराउने भनेकै नियमकानुनसँग हो । कानुन हातमा लिएर कोहि पनि हिड्न नसक्ने एउटा देश हो इजरायल पनि। हामी नेपाली धेरै रिक्वेस्ट गर्यौँ । कुनै हालतमा पनि दिन नमिल्ने हठ लिएपछि पटक्कै सीप लागेन । यता सुमनजी चिभाससँग खाने गेडागुडीको जोहो गर्दै हुनुहुन्थ्यो । अन्ततः चिभास हाम्रो हात नलाग्ने नै भो । तर सुमनजीको गेडागुडी भने लिएर बाटो लाग्यौँ ।
 
अब धेरै बेर नलाग्ने कुरा भएपछि हिडेरै कुमार दाई र उमेशजीलाई भेटिने बसपार्क नेर जाने कुरा भो । रात आफ्नै हो क्यारे भनेर रमाइलो गर्दै हिड्न तिर लाग्यौँ ।
 
हिउँद शुरू हुदैको चिसो महिना, जेरूसलेमको डाँडाहरूमा बहिरहने चिसो हावा, कहिलेकाँही त शरिर भित्र पसेर हृदय नै चिस्याएर भागेको अनुभव हुन्थ्यो । बाटोभरि जेरूसलेमको पवित्र ढुङ्गाबाट बनाईएका घरहरू, घरहरूको बीचको नाङ्गो सडक, सडकपेटीमा बनाईएका हामी जस्ता दोबाटे हिड्ने ट्र्याक । ट्र्याकबाटै अगाडि बढ्दै गयौ ।
 
बसखाना नेर आइपुग्यौँ । दाईहरू मोनित सेरूतबाट ओर्लिसक्नुभएको रहेछ । फेरि फर्केर बसखाना आउनुभो । रातिको समय यसरी फेरि अर्का दुई आत्मा हामीसँग ठोक्किँदा खुशीको सिमै रहेन । पुनः पहिलेकै पुल, मेट्रो ट्रेन गुड्ने लिग भने हिड्नु परेन केहि अगाडिबाट ओरालो झर्दै छोटो बाटो रहेछ । केहि छिनमै घरमा पुग्यौँ ।
 
घरमा पुगेपछि अगाडिका रौनकताले ल्याएको थोरै अप्ठेरोपनलाइ विश्राम दिदै कुमार दाईले ल्याउनुभएको नयाँ ह्वस्कीको बोत्तल खोलेर फेरि खाने पिउने अनि गीत गाउने, रमाइलो गर्ने तिर लाग्यौँ ।
 
कुमार दाईले अनि सुमन जी भए पछि गीत गाउनेको त कुरा नचाहेर पनि कहाँ पछि पार्न सकिन्थ्यो र! अलि अलि सलाइन पसेपछि शुरू त भैहाल्यो नि? उमेश भाई कुमार जी, सुमनजी साथ दिदै कुमार दाईसँगै पुराना अति सुन्दर गीत जस्लाई नारायण गोपालको स्वरमा स्वरङ्कान गरिएको थियो, गाउन थाल्नुभो । म यता श्रीराम भाइको गीत अपलोड गरेर पुनः उहाँहरूको फोटो, भिडियोसमेत क्याप्चर गर्न थालेँ ।
 
फेरि रातभरिका तिनै रमाइला पलहरूसँगै कुमार दाई र उमेश भाइको काममा फर्कनुपर्ने बाध्यता ठिङ्ग पहाड जस्तै उभिन थाले । जति जति रात छिप्पिएर विहानी पलाउन शुरू गर्थ्यो, उति उति मन छट्पटिन शुरू गर्थ्यो । त्यो सिमसिमे पानी, त्यो कालो अँगारलाई आगो लगाएर रातो पार्दै पोलेको कुखुराको पँखेटा, रातो अङ्गारबाट फैलिएको तातो । तातै पखेँटासँग चिरिप्प पारेको चिभास रेगेलको चुस्की, सुमनजी, कुमारजी, कुमार दाई अनि उमेश भाइका मधुर तर आ−आफ्नै लय भाकाका गीत अनि गीतक झँकारहरू सबै सबै याद भनेर पुनः मस्तिष्को हार्ड डिस्कमा सेभ गराउन बाध्य हुन पर्यो । त्यति मात्रैले कहाँ पुग्यो र? बाहिर सम्साँझै ट्रेनको लिगलिगै हिडेको, राती राती बाटो ढाकेर हिडिएको, बाटैभरि मनभरि गरिएका कुराकानीहरू समेत एकातिर पोको पार्नु सिवाय केहि रहेन ।
 
मान्छेको जिन्दगी हो । सधै खुशी मात्रै भैरहने भए सँसारमा यतिका धेरै दुःखी मान्छेहरू मात्रै किन भेटिन्थे? जिन्दगीमा भोगिएका धेरै दुःखका पलहरूलाई थोरै सुखका पलहरूले सिगार्नु नै महान कार्य भैसकेको छ । त्यसैले त यसरी कहिलेकाँही आइपरेका केहि खुशीका क्षणहरूलाई कैद गर्न सिकिरहेको छु । यसरी कैद गर्दाको अर्को मजा साथीहरूसँग भन्दा अलि बढि पक्कै हुन्छ भन्ने मलाई लाग्छ नै । फेरि पनि रातका सबै प्रहरहरूले हामीलाई विदा गर्ने बेला भैसकेको थियो । विहानको मिर्मिरे जेरूसलेमको डाँडोबाट हेर्ने रहरलाई एकातिर थाँती राखेर अँधेरी पलमै डाँडो काट्नु थियो । उता कुमार जीलाई एक्लै छाडेर फर्कने मन पनि कहाँ भएको हो र? केहि गरि पनि समस्याको समाधान नै थिएन । उसो त जागिरका बन्धकी हामी सबैलाई यस्तै यस्तै पिरलो भैरहन्छ । त्यसैले कुमारजीलाई एक्लै छाडेर विदावारी भयौँ ।
 
रातको सुन्यतालाई चिरेर हामी चढेको गाडी लाग्यो तेलअभिवतिर । मनभरि धेरै खुशीका पलहरू सिनेमाको चित्र जस्तै घुमिरहेँ । सबै सबै ती पलहरूलाई आँखा अगाडि नचाउँदै मनभरि विछोडका तितापलहरू लिएर गाडीको हुईक्याईसँगै लाग्यौ तेलअभिवतिर ।
 
पुनस्चः धेरै कुराहरू सम्झनामा हुँदाहुदै पनि सँस्मरणमा समेट्न सकिरहेको छैन । कतै केहि छुटेका छन् र यसलाई भविष्यले साथ दियो भने पुस्तकमा समावेश गर्नेछु । जान अन्जानमा भएका गल्तीहरूमा माफी माग्न चहान्छु ।
 
अन्तमा त्यो समय उपलब्ध गराइदिनुभएकोमा कुमार दहालप्रति आभार व्यक्त गर्दछु भने साथ दिनुभएकोमा सुमनजी, कुमार दाई र उमेश भाइलाइ हृदय रित्याएर धन्यवाद दिन चहान्छु ।

हरि मानन्धर "विवश"
स्याङ्ग्जा, हाल इजरायल ।