बाटोमुनिको फूल

रुपलाल बिश्वकर्मा 'रुप अनुरागी'
-नेपाली चलचित्रको मेरो आफ्नो मनोबिष्लेषण...

आजको २१ औं शताब्दीको आधुनिक र विकसित
युगमा आएको विश्व परिवेश र अवस्थामा नेपाल
मा भने यो जातियताको विभाजन र विभेदकारी
नीति र व्यवहार समाजमा यथावत रूपले कायम हुनु एउटा हाँस्यसपद र विडम्बनाको
बिषयवस्तु भएको छ। समय परिवर्तन भयो, यहि समयको गतिसङ्गै युग पनि परिवर्तन भयो तर हाम्रो समाजको यो रूढिवादी कुसँस्कार अनि हाम्रो परम्परावादी सोच, विचार र मान्यताहरु परिवर्तन भएनन्। शदिऔं पहिले वर्णाक्ष्रममा आधारित मानव समाज वर्गिकरण - ४ जात ३६ वर्णमा विभाजन गरेर विजारोपण भएको यो जातियताको कलङ्कित कुसँस्कार इतिहासको कयौं कालखण्डहरूमा टुकृदै र फक्रदै यथास्थितिको अपाच्या गतिमा निर्लज्ज तवरले नेपाली समाजमा झाङ्गिदै र लादिदै आएको पाईन्छ, एवम रीतले पुरातनवादीहरूले आफ्नो अहमता, वर्चस्व र खोक्रो आडम्बरलाई कायम राख्न यही जातियताको कालो भूतलाई आफ्नो प्रमुख हतियार बनाए र यसलाई टसको मस हुन नदिई यथावत हिसाबले समाजमा कायम गराउदै आए, जसले गर्दा आज हाम्रो समाजको बिकास, प्रगती र परिवर्तनको बाधक-अवरोध सिद्ध भएको छ । यही जातियताको कलुषित कुसँस्कारले गर्दा विश्व समाजको सभ्यताको मापदणडहरूको सामुन्ने हाम्रो नेपाली समाज के-कति पछाडि परेको छ भन्ने कुरा स्पस्ट छ र यसले आज जटिल भन्दा जटिल समस्याहरू तेर्स्याएको पाइन्छ ।

मेरा सम्पूर्ण साथीहरू ! तपाईंहरूले यो बाटोमुनिको फूल चलचित्र हेर्नुभएको छ कि छैन ? नहेर्नु भएको भए एकचोटि अवश्य हेर्ने प्रयास गर्नुहोला । समयको दौरानमा मैले पनि यो चलचित्र हेर्ने मौका पाएँ र हेर्दा निकै खुशी र यथार्थ पनि लाग्यो । यो चलचित्र हेरेपछि मेरो मनमा उठेका विचार र भावनाहरूलाई समेटेर मेरो व्यक्तिगत मनोविष्लेषणको रूपमा तपाईंहरूलाई पस्केको हो यो लेख । हुन त सबैको आ-आफ्नो विचार, स्वभाव्, चाहाना र भिजनहरु होलान तर पनि समग्र हिसावले यो बाटोमुनिको फूल चलचित्र हाम्रो समाजको दर्पण हो भन्दा फरक नपर्ला । विशेष गरेर दलितहरूलाई लक्षित गरी बनाइएको यो चलचित्र एउटा बिशुद्ध सामाजिक चलचित्र हो भन्दा पनि हुन्छ । यस चलचित्रमा राखिएका पात्र-पात्राहरु, नायक-नायिकहरु, सुरेश (यस कुमार ) गुराँस् ( रेखा थापा ), कान्छा, तुलसी, हजुरआमा, गणेश उप्रेती र मोहन उपाध्याय जस्ता ख्यातिप्राप्त कलाकारहरुले पूर्णरुपले कथावस्तु र बिषयवस्तुसङ्ग भिजेर हाम्रो समाजमा भएका र गरेका कुरा र घटनाहरुलाई आ-आफ्नो चरित्रको हिसाबले जस्ताको तस्तै जीवन्त तरिकाले ओकालेका छन । यस चलचित्रमा अझ रोचक र प्रासाङ्गिक कुरा त के छ भने आखिर यो जातियताको भूतको सवारले गर्दा दलित्-दलित बीचमा पनि अन्तरजातिय कति ठूलो फाटो, बेमेल, दरार र विभेद रहेछ भन्ने कुरा कान्छा र तुलसीले स्पष्ट तरिकाले बताएका छन । वास्तवमा यो जातियताको कुसँस्कार र कुरितिले हाम्रो समाजका सबै वर्ग र तप्का, छेऊ-कुना सर्वत्र झाङ्गिएर मान्छेलाई झुण्ड झुण्ड ग्रुपमा विभाजन र बिखण्डनको सिमित घेराभित्र बन्देज बनाएर व्याप्त र अभिसप्त रुपले समाजलाई कति नराम्रो तरिकाले गाँजेको रहेछ भन्ने कुरालाई पनि पारदर्शी हिसाबले देखाएको छ । जातियताको विसङ्गती र विकृतियुक्त भूतले दलित्-दलितहरु बीचमा पनि कति नराम्रो किसिमले गाँजेको र भाँडेको रहेछ भन्ने कुराको पीडालाई दर्शाएका छन कान्छा र तुलसी पात्र-पात्राहरुले । तुलसीको बलत्कारको घटनापछि पनि कान्छाले उतिकै रुपमा तुलसीलाई माया गरेर आफ्नो धर्म पत्नीको रुपमा स्विकार गर्दछ । यसबाट के प्रष्ट्याउन खोजिएको छ भने वास्तवमा दलित्-दलितहरु बीचमा फाटो होइन्, आपसी सद्धभाव्-प्रेम , सहकार्य र एकताको खाँचो रहेको देखाईएको छ ।

हुन त यो चलचित्र ग्रामीण परिवेशलाई भन्दा शहरीया परिवेशलाई आधारित र मुखारित गरेको पाईन्छ । ग्रामीण परिवेशमा दलितहरुको स्थिती र अवस्था हेर्ने हो भने झन अझ बढी नाजुक्, कमजोर र पीडादायी र दयनीया अवस्थामा भेटिन्छ । तर पनि जे होस्, यो चलचित्रले समग्ररुपले सबै क्षेत्र र तप्काका दलित समुदायका भावना, पीडा र मर्मलाई समेट्ने गतिलो प्रयास गरेको छ । चलचित्रमा यसकुमार जीले गाएको गीत - विरानो यो मन्दिरमा कुनै दियो बल्दैन ;;;;;;;; भन्ने गीतले चलचित्रलाई मुर्तरुप अनि जीवन्त आत्मा दिएको छ, साथै दर्शकहरुलाई भावुक पनि बनाएको छ । बाल्यकालदेखिको मिल्ने साथी, चोखो आत्मको प्रेमलाई सुरेशले जातिय काँढे पर्खालको कारण समर्पण र आत्मसम्मानको भावमा आएर गुराँसलाई परित्याग गर्न खोज्छ, तर हुने हार दैव नटार भने झै प्रेममा दिवाना बनेकी गुराँसले आफ्नो जातियताको अहमपनको तिक्तता पोख्दै आजीवन साथ दिने वाचा गर्छिन्, तर उनीहरुको यो सम्योगान्तलाई जातियताको खोक्रो-बोक्रो आडम्बरले धारासायी बनाई वियोगान्तमा पुर्‍याइदिन्छ ।

चलचित्रमा एउटा कर्मठ र ईमान्दार दलितको अभिभावकको भूमीकामा खेलेका गणेश उप्रेतीले समाजलाई केलाउदै ससक्त भूमिका निर्वाह गरेको देखिन्छ । उनले वत्तिमुनिको अँध्यारो भने झै काठमाण्डौ भ्यालीको ठाँउमा नै घटेको बोक्सीको आरोपमा एउटी निमुखा दलित महिलामाथि भएको अन्याय-अत्याचारको तीतो सत्यता व्यक्त गरेका छन । यसबाट छर्लङ्ग हुन्छ कि नेपालको हिमाल्-पहाड्-तराई जुनसुकै ठाँउमा पनि दलितमाथि हुने अन्याय-अत्याचार एवमरीतले व्यप्त छ । कतिपय ठाँउमा धारामा पानी लिन गयो भनेर हात्-खुट्टा भाँचिदिन्छन्, कतिपय ठाँउमा मन्दिरभित्र छिर्‍यो भनेर भौतिक कार्वाही गर्छन र उस्तै परे गाँऊ निकाला पनि गर्छन ईत्यादि । आजका दलित युवा पिंढीहरुले आफू अपमानित र घृणित भएको मानसिक कारण उनीहरुले अपनाउदै र गर्दै आएको पेशालाई दोष दिन्छन्, तर वास्तविकता गणेश उप्रेती जीले बोल्नु भएको छ, यो दोष पेशाको होइन, दोष हो युजकारको भनेर निर्क्यौल निकाल्नु भएको छ । यी सब यथास्थितिवादीहरु विचारका रोगीहरु हुन र जसको कुनै उपचार छैन भनेर ठोकुवा पनि गर्नु भएको छ । समाज विभाजन र विखण्डन यही समाजका माथिल्लो जात भनाउदहरुले गरेका हुन र यसको समधान र मिलान पनि यही वर्गले नै गर्नुपर्ने आवश्यकता देखाउदछन उप्रेती जीले ।

जे होस्, बाटोमुनिको फूल हाम्रो समाजको जातिय कुसँस्कार र कुरितिको उजागार गर्दै परम्परावादी सोचको बिरुद्धमा उठेको बेजोड प्रस्तुती हो । लगभग ४८ लाख दलितहरुले शदिऔ देखि जातिय चपेटाको मारमा परी पानी नचल्ने जात अथवा अछुत जात भनेर अपमान र अपहेलनामा बाँच्दै आएका र उनीहरुले समाजमा विभिन्न प्रकारका अमानविय तथा पाशविक समस्याहरु-घटनाहरु भोग्दै र झेल्दै आएका यथार्थतालाई निकै मार्मिक तरिकाले देखाएको छ यो चलचित्रले । आज पनि तपाईं-हामीहरुलाई पूर्ण जानकारी नै होला, कतै दलित र गैरदलित बीचमा (हाकीदाऊ त असम्भव नै छ ) लुकिछिपी वैवाहिक सम्बन्ध हुन गयो भने त्यसमा के-कस्ता हण्डर र गोता खानु पर्छ भन्ने कुरा सबैलाई सर्वविदितै छ, अझ भोग्नेलाई कस्तो पीडा होला ! मान्छे-मान्छे बीचमा अछुत भनेर नामाङ्कन र वर्गिकरण गरी अपहेलना गर्ने आजको यो कस्तो पाखणडी समाज हो ? समाजलाई सङ्किर्ण जातियताको घेराभित्र सिमित गराई मानिस् मानिस् बीचमा उच्-निचको विभेद ल्याउने यो कस्तो अविकसित समाज हो ? जतिसुकै उदार र परिवर्तनकारी वा क्रान्तिकारी भनेर चिनिए पनि आजसम्म कुनै दलित केटाले कुनै गैरदलितको घरको आँगनमा स-सम्मान ज्वाईंको दर्जा पाउन सकेको छैन्, न कुनै एउटी दलित महिलाले कुनै गैरदलित घरकी असल बुहारीको रुपमा स्वागत गरी स्विकार गर्न सकेको छ यो समाजले ? कतै देखिएको र सुनिएको छ दलित र गैरदलितको सुमधुर सम्बन्धलाई खुलारुपले स्विकार गरेको र आत्मीयता जनाएको यो पाखण्डी समाजभित्र ? यथार्थ रुपमा भन्ने हो भने नेपाली समाजमा हुने अन्तरजातिय विवाह अझै पनि निकै जोखिमपूर्ण र पिडादायी हुने गरेको छ यो रुढिवादी समाजभित्र । अन्तरजातिय विवाह त्यसमाथि अझ दलित र गैरदलित बीचमा प्रेमविवाह हुन गयो भने त झन कत्रो समस्यायुक्त र शारिरिक तथा मानसिक पिडाको जोखिमपूर्ण घडीको सामना गर्नुपर्ने हुन्छ, भनिसाध्य छैन । त्यसमा कतिले ज्यानको बाजी लगाएर समाजसङ्ग मुकाबिला गरेका हुन्छन र थोरै भाग्यमानीले मात्र सफलता हासिल गरेका हुन्छन र कतिले धेरै सङ्ख्यामा त दु:खदयी असफलता पाएर अल्प- आयुमा नै मृत्युवरण पनि गरेका हुन्छ्न । हाम्रो समाज जातियताको सवालमा यति कठोर र निर्दयी छ कि जसको लागि जस्तोसुकै कडा भन्दा कडा कदम र हतकण्डा उठाउन पनि तयार हुन्छ । यस्तो सङ्किर्ण र सीमित घेराभित्र जेलिएर बन्देज भएको यो अन्धबिश्वासी, रुढिवादी र पाखण्डी समाजले आँखामा कालो पट्टी बाँधेर, कानमा तेल हालेर भए पनि अपराधिक मनोवृत्ति लिएर दलितहरुमाथि भौतिक र पाशविक कारवाही गर्न पनि पछि पर्दैन र त्यसको परिणामस्वरुप जस्तोसुकै सजायँको भागीदार बन्न पनि तयार हुन्छ यो पटमूर्ख र अविकसित समाज । चलचित्रका खलनायक पात्र मोहन उपाध्यायले भने जस्तै भावनामा बग्न सजिलो हुन्छ तर यथार्थमा जिउन र व्यवहारमा उतार्न गार्‍यो पो हुन्छ त । उनले भने झै कतिपय दलितका नाममा खोलिएका संस्थाहरु व्यापार र पैसाको खेती गर्न खोलिएका हुन न कि सेवाभावले दलितको उद्दार र भलाईको लागि होइन । हुन पनि आज नेपालमा त्यस्तै अनेकौं ढोंगवादी अवस्था र व्यवस्था अपनाइएको छ, जसले गर्दा आजको गणतन्तृक नेपालमा पूर्व मेचीदेखि पश्चिम महकालीसम्म दलितहरुको समस्या र अवस्था निर्मूल हुन सकेको छैन । व्यक्तिगत हिसाबले जे-जती बिकास र परिवर्तन भएको छ, तर समूहगत र संस्थागत हिसाबले कुनै ठोस् काम र परिवर्तन हुन सकेको देखिदैन ।

नेपाली समाजभित्र जकडिएर बसेको जातिय विभाजन र बिखान्डनको काढेताररुपी विकराल पर्खाल अनि यसैको सेरोफेरोमा कुसंस्कारको विभेदकारी निती र सूत्रको झूटो पर्दा नहटेसम्म सभ्य समाज र समग्र देशको बिकास अनि परिवर्तन असम्भव छ । यही जातिय कुसंस्कारको अमूर्त शिकार भएका करिब ४८ लाख दलितहरुमाथि भएको अमानविय व्यवहार र छुवाछुत जस्तो निन्दनिय कार्य वा कलङ्क हटाउन नितान्त जरुरी र अपरिहार्य छ । विचरा ! ती गरीब्-निमुखा र कर्मठ दलितहरु समाजको यस्तो हेपाहा प्रवृत्तिको शिकार कहिलेसम्म हुने हो र यसको अन्त्यष्टीको दिनहरु गन्दै आशामुखी बनेर सिमित साम्प्रादायिक घेरामा नबसी विशाल भावना र सोच लिएर अनि साम्प्रादायिकतालाई त्यागेर अगाडी बढ्नुपर्ने देखिन्छ । वास्तवमा समाजको यो ग्रसित र घृणित मानसिकता दलितहरुको मात्र समस्या होइन, अन्य उच्-निच गैरदलितहरुको पनि उतिकै साझा समस्या हो र यसको समधान र निर्मूल गर्नु पनि सबैको त्यत्तिकै साझा जिम्मेवारी र कर्तव्य पनि हो । किनभने समाज भनेको के दलित्, के गैरदलित सबैको समूहगत विशाल सम्रचना हो र साझा फूलबारी पनि हो । तसर्थ, समाजको यो जातिय कुसँस्कारलाई हटाउन सबैको बराबरी भूमिका र सहभगीताको आवश्यकता देखिन्छ । यस्तो गलत प्रवृत्तिको लागि तेरो-मेरो नभनी सबैको समस्या एउटै हो र सबैको रगत रातो नै हुन्छ भनेर लाग्नुपर्ने देखिन्छ । हुन त आजको शैक्षिक्, राजनैतीक र आर्थिक आदि सबै हिसाबले खुला र प्रतिस्पर्धाको जमानमा दलितहरु पनि आफ्नो दक्षता र योग्यताले अगाडी बढीरहेका छन । तर पनि अझै समाजले उनीहरुलाई आत्मसम्मान र उच्च मनोबल बढाउने हिसाबले हौसला प्रदान गर्नुपर्ने देखिन्छ । आज देशका विभिन्न भागमा छरिएर बसेका ४८ लाख दलितहरुको मूलभूत समस्या र मूल मर्म भनेको कुनै छुट्टै जातिय राज्य वा स्वशासित क्षेत्र होइन कि दलितहरुलाई आत्मसम्मान चाहिएको छ, एउटा मानव भएर समाजमा मानवको रुपमा अपनाउने व्यवहार्, आदार्-सत्कार अनि उनीहरुको दक्षता र कुशलताको मान-मर्यादा कायम गराउन पाउने अधिकर चाहिएको छ । मानव-मानव बीचमा सङ्किर्ण विभाजन र विभेद होइन की आपसी सद्दभाव्, सम्मान्, मेलमिलाप र समानताको विशाल भावना र विचारबाट उत्प्रेरित भई सभ्य समाजको बिकास र समग्र देशको उन्नती र प्रगतिमा साझा हिस्सेदार बन्न पाउने अधिकारको प्रत्याभुती खोजेको छ ।

अन्त्यमा, यस बाटोमुनिको फूल चलचित्रमा देशको रक्षा र सुरक्षाको बर्दीमा देखिएका डि एस् पी बनेका सबैका लोकप्रिय कलाकार राजेश हमाल ज्यूले सुक्ष्मरुपले घटेको घटनाको अध्ययन र अन्वेषण गरेर परिबन्दले कैदी बनेका सुरेशलाई कानुनी हिसाबले न्यायको प्रत्याभूती गर्दछन । यो अन्धो र बहिरो समाजलाई जातियताको गतिलो र चोटिलो प्रहार पनि दिन्छन । मानव भएर मानवको रुपमा बाँच्न पाउने अधिकार सबैको एउटै हो भन्ने कुराको यथोचित सन्देश समाजलाई दिन्छन । यो जातभात भन्ने कुरा मानिसले बनाएको हो समाजमा व्याप्त झूटो खेती हो भनेर पनि सम्झाउछन । मानव-मानव बीचमा जातिय सङ्किर्णतामा जेलिएर होइन कि एक दोस्रोमा मानविय हिसाबले मैत्रीभाव्, सद्दभाव्-प्रेमको बिजारोपण गर्नुपर्छ, अनि परिवर्तनकारी सभ्य समाज र समग्र देशको समुन्नती हुन्छ भनेर न्यायको पक्षपाती बनेका छन हाम्रा राजेश हमाल ज्यू ।

यो बाटोमुनिको फूल सबैलाई गतिलो सन्देश र सामाजिक परिवर्तनको राम्रो खुराक हो । हाम्रो समाजलाई गहिराइमा गएर अध्यायन र विष्लेषण गरी बनाइएको यो चलचित्र अवश्य नै मार्मिक र यथार्थापरक देखिन्छ । त्यसैले सबैले हेर्दा सबैलाई उतिकै लाभदायक होला भन्ने लाग्दछ ।
तपाईं-हामीले आजको युगान्तकारी समयमा यो बुझ्न र बुझाउन जरुरी छ कि प्राकृतिक हिसाबले मान्छे जुनसुकै जात्-जातिको कोखबाट जन्म लिन सक्दछ्, यो स्वभाविक कुरा पनि हो । तर मान्छे जन्मले कोही पनि ठूलो-सानो-उच्-निच हुँदैन्, ठूलो-सानो हुने त उसले पाएको अनौपचारिक तथा औपचारिक ज्ञान्, सीप्, कला, आचार, अनुशासन्, सभ्यता, दक्षता र योग्यताले हो भनेर बुझ्नु नितान्त जरुरत छ । जातियताको सङ्किर्ण र झूटो पर्दालाई हटाएर मानविय भावना र विचारलाई कदर्-सम्मान गर्दै हाम्रा मानवतावादी महाकवी लक्ष्मीप्रसाद देवकोटा ज्यूले आफ्नो अमर कृति " मुनामदन " मा पोख्नु भएको एक हरफ :::::::::

"मानिस् ठूलो दिलले हुन्छ्, जातले हुँदैन
क्षेत्रीको छोरो त्यो पाऊ छुन्छ्, घिनले छुदैन।"

यस भनाई वा कथनलाई उर्दीको हिसाबमा तपाईं-हामीले बोली र व्यवहारमा समानरुपले परिपालन गर्दै कार्यन्वयन गर्दै जाऊ अनि मात्र जातियताको यो कलङ्कित भूत अथवा अभिशाप परिवर्तनको सङ्घारमा बामे सर्दै एक दिन अवश्य नै निर्मूल भएर जानेछ र समयको गतिसङ्गै समतामूलक नेपाली सभ्य समाजको निर्माण हुनेछ ।

सर्वे भवन्तु सुखिन
सर्वे सन्तु निरामया:

दमौली , तनहुँ
हाल: युएई, दुबई