नेपाली गजल र जहरभित्रको रहर

नारायणप्रसाद भट्टराई


नेपाली साहित्यको काव्य विधा सवैभन्दा पुरानो विधा मानिन्छ । आदिकवि भानुभक्त आचार्यले वाल्मिकीको संस्कृत रामायणलाई नेपालीमा अनुवाद गरेपछि काव्य धारा विकसित हुदै गयो । पद्यमा लेखिने र भाका हालेर गाउन मिल्ने भएकाले काव्यधारा नेपाली जनमानसको ‘प्रिय’ विधाका रुपमा विकास भयो । काव्य धाराको विकासक्रमसंगै यसको वर्गिकरण पनि गरियो । काव्यलाई महाकाव्य, खण्डकाव्य र फुटकर कविताका रुपमा विभाजन गरियो नेपाली साहित्यमा । विभिन्न रस, अलंकार र छन्दको संयोजनमा रचिने कविताको मिठास वेग्लै हुने कुरा विदितै छ । नेपाली कविता इतिहासमा पद्य संगसंगै गद्य कविताको पनि विकास हुन थाल्यो । कवि गोपालप्रसाद रिमाल र मोहन कोइरालावाट प्रारम्भ भएको गद्य युग आजसम्म आइपुग्दा वेस्सरी झांगिएको छ ।
नेपाली कविताको विकास पद्य र गद्यमा मात्र सीमित रहेन । पद्य कविताहरु विभिन्न रस, अलंकार र छन्दमा रचना भएका छन नै तिनमा पनि समय सापेक्ष गुणहरु छन । प्रारम्भकालिन भक्तिधारा र रसधारा पछिल्ला दिनमा आएर क्रान्तिकारी आवाजमा परिणत भयो । आज स्वतन्त्र र मुक्त लेखनको साहित्यिक प्रभाव कवितामा पनि परेको छ । संस्कृत साहित्यको छन्द परम्परा विस्तार विस्तार नेपाली कवितामा कमजोर बन्दै गएको छ । तथापि महाकाव्य, खडकाव्य र थुप्रै फुटकर कविताहरु संस्कृत साहित्यको सूत्रमा आवद्ध छन । कविताका अतिरिक्त काव्य विधामा गीत, गजल, मु्रक्तक र सायरी पनि नेपाली वाङमयमा महत्वपूर्ण विधाका रुपमा विकसित भएका छन । खासगरि नवप्रतिभाको चिन्तन र सिर्जना यिनै गीत, गजल, सायरी र मुक्तकवाट प्रारम्भ हुने गर्दछ । यि विधाको इतिहास खोतल्दा भानुभक्तकालिन युवाकवि मोतिराम भट्टले नेपाली साहित्यमा प्रारम्भ गरेको गजल लेखन अहिलेको नेपाली साहित्यको लोकप्रिय विधा बनेको छ । खासगरि ५० को दसकयता नेपाली गजल विधा युवाहरुमाझ लोकप्रिय बन्दै गएको मात्र छैन असंख्य साहित्यानुरागी यहि विधावाट प्रवेश गरेका छन । नयाँ उदियमान कवि कवयित्री यिनै गीत, गजल, सायरी र मुक्तक विधाका परिणाम हुन । आज नेपाली साहित्य र काव्य धारा नेपाली जनजीवनका सुख दुःख, भोगाई र अनुभूति, देशको अव्यवस्था उजाग गर्ने मा्रध्यमका रुपमा उभिएको छ । ‘देशप्रेम’’, ‘राष्टप्रेम’ जनताको सरोकार, मायापिरतीका विम्व प्रतिविम्वको उपजका रुपमा विकास भएको छ गजल विधा ।
नेपाली गजल विधामा असंख्य रचना र दर्जनौ कृतिहरु छन । तिनै कृतिहरुको पंक्तिमा अर्को थपिएको छ । ‘जहरभित्रको रहर’ । युवा गजलकार खगेन्द्र भट्टराईले ‘त्रसित वसन्त’ का नाममा जहरभित्रको रहरको प्रकाशन गरेका छन । देशको विद्यमान असुरक्षा, अव्यवस्था, र अराजकतावाट त्रसित बनेको मनलाई गजलमा उतारेका छन । झण्डै ३ वर्षको आफ्नो भोगाई, अनुभूति र समाजका विभिन्न पक्षलाई केलाएर गजलका रचना गरिएको छ । समाजको जर जर अवस्थाको व्यंग्य हो जहरभित्रको रहर । यस गजल संग्रहमा विभिन्न परिवेशमा रचना गरिएका ६४ वटा गजल संकलित छन । यी गजलहरुक माध्यमवाट गजलकार वसन्तले आफूभित्रको ‘देशप्रेम’ र ‘राष्टप्रेम’ अभिव्यक्त गरेका छन । यतिमात्र होइन उनका गजलले नेपाली क्रान्तिको भाका वोलेका छन । जनताले भोगेको दसक लामो सशस्त्र हिंसा, पछिल्लो जन आन्दोलन, लोकतन्त्रको वहाली र गणतन्त्रको स्थापना प्रति उनको व्यंग्यात्मक र सगौरव प्रस्तुति छ । नेपाली जनजीवनका अनेकन् भोगाईप्रति टिप्पणी गरेका छन उनले । माया पिरतीका विम्व र प्रतिविम्व, भोगाई र अनुभूतिलाई गजलमा उतारेका छन ।
आयो फेरी अर्को तन्त्र, डाली फेरियो
सुन्दर यो फलवारीका,े माली फेरियो
भन्न सकूँ मैले अव, छाती खुलाएर
विकास भयो मेचीदेखि, काली फेरियो
गजलकार यसरी देशको राजनीतिक परवर्तनलाई शव्द र भावमा गजलमा प्रस्तुत गर्छन । समाजको गरिवी, अशिक्षा र आक्रोसलाई गजलमा उतारिएको छ । मनमा उठेको छालहरु, विरहहरु र विम्वहरुलाई राम्रोसंग संयोजन गरिएको छ ।
तिमीसंग मित्रताको हात खोजे, त के विराएँ
जुनीभर संगै वस्न साथ खोजे, त के विराएँ
मिल्छ भने तिम्रो दिलमा, वास मागेको छु
तिमीले नै पकाएको गास, मागेको छु
यसरी मनमा वेदना र विरहहरु प्रेमिकाप्रति गरिएको आग्रहका रुपमा छन । यहाँ जीवन छ, जगत छ, समाज छ, देश छ, माया पिरती छ, त्यसको विछोड पनि छ । तसर्थ साहित्यको आफ्नै परिवेश भित्र यो जहरभित्रको रहरको रचना भएको छ भन्न सकिन्छ । निश्चित रुपमा गजल विधा युवा पिंढीका माझ लोकप्रिय छ नै यसलाई संगीतवद्ध बनाउदा लाखौ संगीत पारखीको मन बुझाउन सक्छ । साँचो अर्थमा यो गजल संग्रह संग्रहणीय छ सवैका लागि । नव प्रतिभा वा साहित्यानुरागीका लागि, सर्जकका लागि, संगीतकार एवं गीतकारका लािग र आम पाठकका लागि । अन्तमा, नकारात्मकतामा सकारात्मक चिन्तन गर्ने र निराशामा आशावादी बन्ने खगेन्द्रका गजलहरु अझै परिष्कृत हुन सकून ।
कृति जहरभित्रको रहर
विधा गजल
रचनाकार खगेन्द्र भट्टराई(त्रसित वसन्त)
मूल्य रु १०० संस्थागत, ५० व्यक्तिगत
प्रकाशक कर्णाली स्वावलम्वन विकास मञ्च नेपाल
मुद्रक लोकमञ्च अफसेट प्रेस सुर्खेत

लोकमंच डेली बाट