नेपाली साहित्यका मोती : मोतीराम भट्ट


पलाँस गजल पत्रिका

वि.सं. १९२३ साल भदौ २५ गते शनिवार कुसे औँसीका दिन काठमाण्डौ नयाँसडक स्थित भेसिको टोलमा बाबा दयारमा भट्ट र आमा रिपुमर्दिनी देवीको तेस्रो सन्तानका रूपमा जन्मेका मोतीराम भट्ट नेपाली साहित्यका एक चम्किला मोतीका रुपमा चिनिन्छन् । उनले नेपाली साहित्यका विविध क्षेत्रमा सृजनात्मक कार्यहरू गरेका छन् । उनले वीररसमा राजा महाराजाहरूको गुणगान गाउने र भक्तिरसमा देवीदेवताको स्तुती गाउने त्यसबेलाको साहित्यिक मूलधारलाई श्रृङ्गार रसतर्फ ढल्काउने काम गरे । उनले नेपाली साहित्यमा गजल, नाटक, जीवनी, समालोचना आदि विधालाई भित्र्याउने र यिनलाई स्थापित गराउने महत्वपूर्ण कार्य गरे । बाल्यकाल काठमाण्डौमै विताएका मोतीराम वि.सं. १९२८ सालमा काशीवास गर्न गएकी माइली आमाको सेवासुसार गर्न गएका बुबा दयाराम नफर्के पछि आफ्नी आमा र बहिनी विन्ध्यावासिनीसङ्ग छ बर्षको उमेरमा वनारस गए र वनारसमै बस्न थाले । वि.सं. १९३० सालमा उनको ब्रतबन्ध भयो र त्यसपछि उनले ३/४ बर्ष संस्कृत पढे । संस्कृत पढेपछि उनी वि।सं। १९३३/३४ सालतिर फारसी स्कुलमा भर्ना भई चारवर्षजति फारसी र उर्दू भाषा अध्ययन गर्नतिर लागे । फारसी र उर्दू भाषा अध्ययनका कारणले हुनसक्छ उनी त्यसैबेला गजलतर्फ आकर्षित भए । उनले वनारसमै ख्यातीप्राप्त सितारवादक पन्नालालसङ्ग सितार बजाउन सिके । यसरी उनी गजल र सङ्गीतको मेहफिलमा हराउन थाले । उनी नृत्य र अभिनयसङ्ग पनि सन्निकट भए र केही नाटकहरूपनि सृजना गरे । त्यसबेला उनले
चारसय सेरहरू फारसी र उर्दू भाषामा लेखेका थिए भन्ने अनुमान छ, जुन सेरहरू आज उपलब्ध छैनन् । यो फारसी र उर्दू साहित्ययात्रा उनी वि.सं. १९३७ सालमा विवाह गर्न काठमाण्डौ आएपछि बीचमै रोकिएको थियो । उनी विवाह गर्न काठमाण्डौ आएपछिको एकवर्षे बसाइका क्रममा उनी संस्कृत साहित्य, छन्दशास्त्र र अङ्ग्रजी भाषाको अध्ययनमा लागे । यसै समयमा आफ्ना साथी खड्गदत्त पाण्डेको विवाहमा गएका मोतीरामले जन्तीहरूले जुवारी खेल्दा गाइएका भानुभक्तीय रामायणका नेपाली श्लोकहरू सुन्ने मौका पाए । यस घटनाले उनमा नेपाली साहित्यको अध्ययन, अनुसन्धान र प्रकाशन गर्ने चेतना जाग्यो । उनले नेपाली जनमानसमा चलेको भानुभक्त आचार्यको रामायणलाई वनारसमा गएर प्रकाशन गर्ने विचार गरे । वि.सं. १९३८ सालमा मोतीराम पुनः वनारस फर्के र वरिष्ठ हिन्दी साहित्यकार भारतेन्दु हरिश्चन्द्रद्वारा स्थापित अङ्ग्रजी स्कुलमा भर्ना भए । यसै वर्ष उनको सम्पर्क भारतेन्दु हरिश्चन्दसङ्ग उनकै निवासमा एक गोष्ठीमा भयो । त्यहाँ ‘कपडा जलाके अपना लगा आग तापने’ भन्ने समस्या उठाई मोतीरामलाई समस्यापूर्ति गर्न दिइयो । उनले ‘ऐसा भी चुतिया कहीँ देखा है आपने’ भनेर जवाफ दिए । यस समस्यापूर्तिबाट प्रभावित भएर भारतेन्दु हरिश्चन्दले मोतीराम भट्टलाई दश रुपैया इनाम पनि दिएका थिए । यसपछि उनले वनारसमै पदमविलास पन्त, काशीनाथ, रंगनाथ, चेतसिंह, तेजबहादुर राना आदिसङ्ग मिलेर नेपाली भाषामै समस्यापूर्ति कविता, गजलहरू अभ्यास गर्न थाले । यसै समयमा वि.सं. १९४४ को फागुन महिनामा आमा, पत्नी र बहिनीका साथ काठमाण्डौ फर्के । यसको एकवर्षभित्रै काठमाण्डौको ठहिटी टोलमा कृष्णदेव पाण्डेसङ्ग मिलेर मोतीरामले ‘मोतीकृष्ण कम्पनी’ नामक पुस्तक पसल खोलेका थिए, जसलाई नेपालको पहिलो पुस्तक पसल पनि मानिन्छ । यो पसल निकै चल्न थाल्यो र साहित्यिक सम्पर्क पनि निकै हुनथाल्यो । यसै क्रममा नरदेव पाण्डे, लक्ष्मीदत्त पन्त, गोपीनाथ लोहनी र भोजराज पाण्डेय आदि कवि गजलकारको सहयोगमा वनारस बसाइका समयमा जस्तै ‘मोती मण्डली’को गठन भयो । यसलाई राजा पृथ्वीवीरविक्रम शाहको पनि सद्भाव प्राप्त थियो । यसरी उनले दरवार र राजासङ्ग साँठगाँठ गरेर गजललाई प्रचलित गराउन विशेष योगदान गरे । ‘मोतीमण्डली’मार्फत् समस्यापूर्तिका कविता, गजल लेखी धेरैलाई सृजनात्मक प्रशिक्षण दिन पनि मोतीराम निकै सक्रिय रहे । उनले वि.सं. १९४५मा राणा शासक देव शमशेरको निर्देशनमा कालिदासको संस्कृत नाटक ‘अभिज्ञान शाकुन्तलम्’ लाई नेपालीमा रुपान्तरण गरी ‘शकुन्तला’ नाटक तयार पारी निर्देशन र अभिनय समेत गरी देवशमशेरकै दरवारमा मञ्चन समेत गरेका थिए । यसै समयमा ‘उषाचरित्र’ खण्डकाव्य र ‘पद्मावती’ नाटक पनि तयार पारे । उनले ‘चाडक्यनीति दपर्ण’ र ‘स्वप्नाध्याय’ संस्कृत कृति र फारसी कथाको आधारमा ‘गुलसनोवर’ नामक कृति नेपालीमा प्रकाशन गरेको जानकारी पनि छ । वि.सं. १९४६मा एक मित्रले असनकी युवतीको वर्णन गरेपछि उनले त्यस ठाउँमागएर ती युवतीलाई नायिका बनाउँदै ‘चन्द्रोदय वर्णन’ लघुकाव्य पनि तयार गरेका थिए । तर ती कृतिहरू हाल उपलब्ध छैनन् । राजा हर्षद्वारा संस्कृत भाषामा रचित ‘प्रियदर्शिका’ नाटक वि.सं. १९४८मा नेपालीमा अनुवाद गरे । उनले आफू र आफ्ना समकालिन गजलकारहरूलाई समेटेर ‘सङ्गीत चन्द्रोदय’ वि.सं. १९५१ मा प्रकाशित गरे जसलाई नेपाली गजलको पूरानो र अमूल्य कृति मानिन्छ । ती गजलहरू मुक्तकियता, साङ्गीतिकता, अलङ्कार, अनुप्रास र छन्द प्रयोगका आधारमा बलिया मानिन्छन् । उनी वि.सं. १९५२ फागुन महिनादेखि टाइफाइड रोगले थलिएर ६–७ महिनासम्म ओछ्यानमा परे । वि.सं. १९५३ भाद्र कृष्ण त्रयोदशी तिथीमा रोग निको हुने उपाय नभएर उनलाई पशुपति क्षेत्रमा लगियो र तीनदिनपछि औँसी तिथीमा जन्मोत्सव पनि त्यहीँ मनाइएको थियो । त्यसै रात उनलाई आर्यघाटको ब्रम्हनालमा पुर्याइयो र आफ्ना अधुरा सपनाहरूलाई बीचमै छाडेर ३० वर्षको अल्पायुगमै उनी यो संसारबाट विदा भए ।    

साभार:-सुरेश वाग्ले  को स्टाटस बाट                        
पलाँस १८, २०६५ साउन-भदौ अङ्क