पारिजात बालसाहित्य पाण्डुलिपि पुरस्कार युवा कथाकार न्यौपानेलाई

                

                                  यस वर्षको पारिजात बालसाहित्य पाण्डुलिपि पुरस्कार युवा कथाकार अमर न्यौपानेले पाएका छन् । ललितपुरको यलमाया केन्द्रमा आयोजित कार्यक्रममा उक्त पुरस्कार संस्थापक तथा लेखिका एवं मानवशास्त्री बारबरा अजिजले न्यौपानेलाई पुरस्कार प्रदान गरेकी थिइन् ।
१५ हजार रुपैयाँ राशि रहेको उक्त पुरस्कार हरेक वर्ष प्रदान गरिने गरिन्छ । पुरस्कारका लागि प्राप्त १७ पाण्डुलिपिमध्ये न्यौपानेको 'कलिलो मन' उत्कृष्ट भएको हो । साहित्यकार खगेन्द्र संग्रौला र भिक्टर प्रधानले पाण्डुलिपि छनोट गरेका थिए ।
तीन लामा बालकथा रहेको उक्त पाण्डुलिपिमा बालबालिकाको रहर र मनोदशा चित्रण गरिएको छ । न्यौपाने 'पानीको घाम' कथासंग्रहका लेखक हुन् ।पारिजातकी मित्र एवं योगमायाको विषयमा खोजकर्तासमेत रहेकी बारबरा नेपालबारे चासो राख्ने मानवशास्त्रीमध्येकी एक हुन् । कार्यक्रममा बोल्दै बारबराले नेपाली बालसाहित्यको भण्डार समृद्ध पार्न आफूले पनि योगदान दिने बताएकी थिइन् ।

साभार डिसीनेपाल डटकम बाट