झमक घिमिरेलाई नागरिक अभिनन्दन



               
          साहित्यकार झमक घिमिरेलाई नागरिक अभिनन्दन गरिएको छ । आत्मपरक निवन्ध संग्रह ‘जीवन काँडा की फूल’ का लागि यो वर्षको मदन पुरस्कार प्राप्त साहित्यकार घिमिरेलाई आफ्नै गृह जिल्ला धनकुटामा अभिनन्दन गरिएको हो । धनकुटाको भीमनारायण चोकबाट सुरु भएको अभिनन्दन र्‍यालीले झमकलाई बजार परिक्रमा गराएको थियो । साहित्यकार घिमिरेलाई अभिनन्दन गर्न नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टुकडी र विभिन्न जातीय समुदाय झाँकी सहित उपस्थित भएको थियो ।

अभिनन्दित व्यक्तित्व साहित्यकार झमकले लिखित मन्तव्य दिँदै अहिले मातृभुमीको न्यानो माया र सबैको हात र साथ पाएको बताउनुभयो । विगतमा साहित्य सिर्जना गर्दा भोग्नु परेको पीडाका दिनहरु सम्मान कार्यक्रमले बिर्साएको भन्दै झमकले सबैलाई धन्यवाद दिनुभयो । अभिनन्दन कार्यक्रममा बोल्दै साहित्यकार मोदनाथ प्रश्रितले विशिष्ट प्रतिभा झमकलाई गरिएको नागरिक अभिनन्दनले नयाँ संस्कृतिको विजारोपन भएको बताउनुभयो ।
मान्छे भएर पनि मान्छे जसरी बाच्न नपाएकालाई सम्मान मिलेको प्रश्रितले बताउनुभयो । यस्तै प्राध्यापक तथा साहित्यकार डा. गोविन्द भट्टराईले झमकले साहित्य मार्फत उठाएको मानकवतावादी बिचार स्वतन्त्र जिवन र संर्घषको गाथा भएको धारणा राख्नुभयो ।  झमकका रचना पढ्नेलाई उत्साहले उठाउने र पश्चातापले गलाउने भट्टराईले बताउनुभयो ।



छोटकरीमा झमकको जानकारी

२०३७ सालमा जन्मेकी झमक परिवारकी जेठी छोरी हुनुहुन्छ । प्रतिमस्तिष्कको रोगका कारण जन्मैदेखि उहाँका हात गोडा चल्दैनन् भने उहाँ बोल्न पनि सक्नुहुन्न । उहाँले २०५३ साल देखि खुट्टाको औलाको सहयोगले अक्षर लेख्न थाल्नु भएको हो । झमकले भाई बहिनीले लेखपढ गरेको देखेर अक्षर लेख्न पढन् सिक्नुभयो ।

भाईबहिनीसंगको संगतबाट अक्षर चिनेकी झमकले खुट्टाको बुढी औलाको टुप्पोमा अँगार च्यापेर धुलो माटोमा लेख्नु हुन्थ्यो । त्यही धुलोमा लेख्न थालेको अभ्यासले झमकलाई मदन पुरस्कार समेत दिलायो । साभार डिसी नेपाल डट कम