अस्ताए साहित्यकार दैवज्ञराज न्यौपाने

   अस्ताए साहित्यकार दैवज्ञराज न्यौपाने                                        पुष २ – वरिष्ठ साहित्यकार दैवज्ञराज न्यौपानेको शनिबार निधन भएको छ । लामो समयदेखि प्यारालाईसिसले थलिएका न्यौपानेलाई निमोनियाले ग्रस्त बनाएपछि शुक्रबार बेलुकी निजामति अस्पतालमा भर्ना गरिएको थियो ।
साहित्यकार न्यौपानेको उपचारका क्रममा शनिबार बिहान साढे ६ बजे निधन भएको हो । न्यौपानेको शवलाई शनिबार दिउँसो साढे १ बजेसम्म श्रद्धान्जलीका लागि आर्यघाटमा राखिएपछि अन्तिम संस्कार गरिएको छ ।
न्यौपानेको जन्म भोजपुरको गोगने–१ धाइपामा वि. सं २००४ सालमा भएको थियो । उहाँ २०६२ सालको भदौ देखि ब्रेन हृयामरेज भएपछि ओछ्यान पर्नुभएको थियो । काठमाडौँको गैरीगाउँमा रहेको आफ्नै घरमा आराम गरिरहेका न्यौपानेलाई रोगले च्यापेपछि अस्पताल भर्ना गरिएको थियो । 

कवि एवं समालोचक दैवज्ञराज न्यौपानेका ‘सिर्जनाको लहर’, ‘तोतेबोली’, ‘गाउँखाने कविता’, ‘हुने विरुवाका चिल्ला पात’, ‘जोर मुरली’ ‘बालसंसार’, ‘बालकविता र गीत सङ्ग्रह’, ‘सबै हाम्रा साथी’, ‘गुणराज उपाध्यायका खण्डकाव्यहरूको मूल्याकंन’, ‘नाट्य परम्परा र भारती खरेलका नाटकहरू’ लगायतका कृति प्रकाशित छन् । 
न्यौपानेले बिरामी अवस्थामै ‘सम्झनाको धरातलबाट’ (२०६३), र ‘घामले ढोका खोल्यो’ (२०६५) प्रकाशित गर्नुभएको छ । उहाँले कविता, गीत, समालोचनाका अलावा विभिन्न पाठ्यपुस्तकको सम्पादन समेत गर्नुभएको छ । 
भक्तपुर क्याम्पसबाट प्राध्यापन सुरु गरेका न्यौपाने पछिल्लो समय त्रिभुवन विश्वविद्यालयमा प्राध्यापकका रुपमा कार्यरत हुनुहुन्थ्यो । उहाँ मोती युवा पुरस्कार पाउने पहिलो स्रष्टा हुनुहुन्छ । न्यौपानेका श्रीमती, तीन छोरा र एक छोरी हुनुहुन्छ ।