युद्धकालको संग्रामी यात्रा-थवाङदेखि सिन्धुलीसम्म
वर्षायामको समय थियो । आकाशबाट सिमसिम
पानी परिराखेको थियो । डाँडा पाखाहरुलाई कुइरोले घुम्टो ओढाएको थियो ।
हामी जनयुद्धको आधारइलाकाबाट सैन्यशक्ति केन्दि्रकरणका लागि पूर्वी
भूगोलमा जाने खबर सुनेका थियौँ तर कुन कम्पनी र कुन प्लाटून जाने भन्ने
कुरा निश्चित भइसकेको थिएन । हामी थियौँ- घर्तीगाउँको तुसारपानीमा ।
एकदिन साँझ कमाण्डरले बैठकमा बोलाउनुभयो
र हाम्रो कम्पनी पूर्वी कमाण्डमा जाने जानकारी गराउनुभयो । कमाण्डरले
तत्काल प्लाटून सह-कमाण्डरको कमाण्डमा हिडिहाल्नुपर्ने बताउनुभयो । पूर्व
जाने भन्ने खबरले कता-कता हामीलाई असजिलो र नरमाइलोको अनुभूति भइराखेको
थियो । कम्पनीका साथीहरुसँग छुट्टिनुपर्ने कुराले झन् पीडाबोध गराइराखेको
थियो । तर, हामी क्रान्तिकारीहरु त्यसमा पनि जनमुक्ति सेना । पार्टीको
योजनालाई कार्यान्वयन गर्न दृढताका साथ हामी अघि बढ्नैपर्ने हुन्थ्यो ।
हामीले आफूलाई मानसिक रुपले तयार पार्यौँ र अन्य साथीहरुलाई पनि
बिहानसम्म आफ्नो सरसामान तयार पार्न आग्रह गर्यौँ । अर्को दिन बिहानको
सिरेटोसँगै सिठीको सुई सुई आवाजमा चौरमा हाम्रो रोलकालमा भयो कम्पनी
कमिसार विवेक र कमाण्डर पावेलले रोलकालमा अहिले आन्दोलनको आवश्यकताले
पूर्वी कमाण्डमा जाने निर्णय भएको बताउनुभयो । ‘पश्चिमको डिफेन्स र युद्ध
सामग्री पुर्याउनुपर्नेछ त्यसकारण यस यात्रालाई अवसरको रुपमा लिनुहुनेछ ।
किनकि हामी हाम्रा महान गुरुहरुले भनेझैँ क्रान्तिका पेचकिला हौँ जहाँ
ठोके पनि फिट हुनुपर्छ । तपाईहरुसँग कम्पनी सह-कमाण्डर संघर्ष जानु हुनेछ
। हामी १ महिनापछि मात्र आधार क्षेत्रमा फर्किनेछौँ ।’ यति भनेर उहाँले
आफ्नो रोलकाल टुङ्ग्याउनुभयो । त्यो दिन हामी सबै साथीहरुसँग भेटघाट र
बिदावारी भयौँ । भोलिपल्ट बिहानै हिड्ने सुरसार कस्यौँ ।
यात्रा शुरु हुने भयो । साथीहरु लाइनमा
उभिएर हात मिलाउन थाल्नुभयो । बिदाईको क्षण अलि नमिठो र अस्वाभाविक
बनिरहेको थियो । साथीहरुका आँखा रसाइरहेका थिए, त्यतिबेला हाम्रा आँखाहरु
पनि ओभाना रहन सकेनन् । साथीहरुसँग दरिला हात मिलाउँदै हामी पूर्वी
नेपालको लम्बे यात्रामा अघि बढ्यौँ । डाँडाले ओझेल नपार्दासम्म साथीहरुसँग
बिछोड हुँदाका हातहरु हल्लिराखे र मुठ्ठीहरु माथि उचालिराखे । साँझको
झिसमिसे अँध्यारोमा हामी थवाङ पुग्यौँ । कमाण्डरहरु बटालियन कार्यालयमा
जानुभयो । हामी थवाङ स्कूल वरपरका घरहरुमा बस्यौँ । मेस चलेको थियो, खाना
खायाँै । भोलिपल्ट बिहान बटालियन कार्यालयले विदाई गर्ने कार्यक्रम राख्यो
। बिहानै स्कूल प्राङ्गणमा आयोजना गरिएको बिदाई कार्यक्रममा सहभागी भयौँ ।
बटालियन कमाण्डर राजेश र कमिसार सुनिलले हातमा अविर र माला बोकेर भावमय
मुद्रामा पंक्तिबद्ध जनसेनाको हाम्रो प्लाटूनलाई एक अविभावकले झैँ न्यानो
स्नेहका साथ रातो टिका र माला लगाई दिनुभयो । क्रमैसँग त्यो पंक्तिमा मेरो
पालो पनि आयो । रातो अविरको टिका र माला पहिराउँदा कमरेडहरुले दिएको
जिम्मेवारी पूरा गर्न सकिएला या नसकिएला भन्ने चिन्ताले कताकता मलाई भावुक
बनाइरहेको थियो । टिका लगाइदिएपछि कमिसार कमरेडले बिदाई मन्तव्य शुरु
गर्नुभयो । ‘कमरेडहरु तपाईहरु आधार क्षेत्रबाट श्वेत क्षेत्रमा जाँदै
हुनुहुन्छ, तपाईहरुको कोटामा बलिदानी परेछ भने पनि पछाडि हट्नु हुने छैन ।
आजको यो हाम्रो भेट अन्तिम पनि हुन सक्छ । तपाई हामी युद्धको यात्रामा छौँ
र हामी जहाँ जतिबेला जे पनि हुन सक्छौँ । ती सबै कुराको सामना गर्नुपर्छ,
हाम्रो स्वार्थ भनेको एउटै छ, यो पुरानो समाज बदल्नु छ । यो अभियानमा हामी
कहिल्यै पछि हट्ने छैनौँ ।’ कमिसार सुनिलले यी कुराहरु राख्दै गर्दा हामी
सबै गम्भीर भएर सुनेका थियौँ । त्यत्तिकैमा कमाण्डरको बोल्ने पालो आयो ।
उहाँले पनि तपाईहरु सेना हो, सेनाको जिम्मेवारी कमाण्डरदेखि सदस्यसम्मले
पूरा गर्नु हुनेछ भन्दै त्यही विश्वासका साथ पूर्वी मोर्चामा पठाउन लागेको
बताउनु भयो । कमाण्डरको निर्देशन मन्तव्यसम्म आउँदा हामी मानसिक र
शारीरिकरुपले तयार भइसकेका थियौँ ।
बिदाई कार्यक्रमको समापनपछि खाना खायौँ र
आ-आफ्ना झोला र सामानहरु बोकेर बाहिर निस्क्यौ । थवाङका जनता पंक्तिबद्ध
भएर हात-हातमा कोसली लिई उभिराख्नुभएको थियो । जनताबाट कोसेली लिदै हाम्रो
पंक्तिबद्ध फर्मेशनको लाम अघि बढ्यो । त्यो पंक्तिमा महिला प्लाटूनका
साथीहरु र कमाण्डर नविनाले पनि दरिला हात मिलाएर हामीलाई बिदाई गर्नुभएको
थियो । आँखाको दृष्टि पुग्दासम्म हामीले साथीहरुलाई हेर्दै हातहरु
हल्लाइराख्यौँ क्षितिजपारि नपुग्दासम्म । युद्धसंग्रामको बीचमा पार्टीको
योजनालाई पूरा गर्न हामीले तय गरेको पूर्वी नेपालको यात्रा कम जोखिम र
चुनौतीपूर्ण भने थिएन । हामी थवाङबाट बिदाई भई उवा पुगी बास बस्यौँ ।
कता-कता मन नरमाइलो भइराखेको थियो । हाम्रो इच्छाभन्दा आवश्यकता नै प्रमुख
हुन्छ भन्ने कुरालाई हृदयङ्गम गर्दै हामी अघि बढ्यां । उवाबाट गाम हुँदै
प्यूठान स्याउलीवाङ पुग्यौँ । बर्खाको झरी, जुकाको टोकाई हाम्रो लामो
यात्रा कठिनाई बन्दै गइरहेको थियो । जङ्गलको बाटो हिड्दा रुखमा बस्ने
जुकाहरु हाम्रा शरीरमा खस्ने गर्थे । टाउकादेखि शरीरको जुन भागमा पनि
टोक्न सक्ने जुकासँग संघर्ष गर्दै अघि बढिराख्यौँ- शरीरभरि रगतका धारा र
घाउ बनाउँदै । हतियार र गोलीको भारी, बषर्ाको झरि साह्रै दुःखदायी
यात्रालाई सामूहिकरुपले पार गर्दै अघि बढ्दै रहृयौँ ।
पहाडको चुचुराबाट प्यूठानदेखि अर्घाखाची
जिल्ला २ दिनमा पार गरियो । एउटा जिल्लादेखि अर्को जिल्ला प्रवेश गर्दा
हामीलाई लिन नयाँ साथी आउनुहुन्थ्यो । केही सामान बोक्न पनि जिल्लाका
मिलिसिया साथीहरुले सहयोग गर्नुहुन्थ्यो । धादिङ, पर्वत र चितवन हुँदै
हामी मकवानपुर पुग्यौँ । त्यहाँसम्म पुग्दा खुट्टाहरु पाकेर हामी हिड्नै
नसक्ने अवस्थामा पुगिसकेका थियौँ । हिड्दा बाटोमा दर्जनौँ खोला तर्नुपर्ने
अनि चिसो कपडासँग रातभरि हिड्दा बिरामी परियो । बाटोमै २ दिनसम्म आराम
गर्नुपर्ने अवस्था आयो । उता निश्चित सम्पर्कमा समयमै पुग्नुपर्ने
निर्देशन थियो । सायद यो यात्रा जीवनको कठिन र अविस्मरणीय बनेर रहेको छ ।
मकवानपुर पुगेपछि जहाँ हामी बस्ने हो,
त्यहाँ स्थानीय सम्झना भन्ने कमरेड हुनुहुँदो रहेछ । उहाँले एउटा गाउँ नाम
थाहा भएन जहाँ माझीहरुको बस्ती थियो त्यही लगेर राख्नुभयो । हामी रातभरि
हिडेर लखतरान परेका कारण नास्ता खाएर मात्र सुतेका थियौँ । हाम्रो त्यो
विजोगको स्थिति त्यसमा पनि महिलाहरुको अवस्था देख्दा साह्रै मन दुखेछ
क्यार घरबेटी बुढी आमालाई । हामी टिममा ३ जना मात्र महिला थियौँ । सुश्मा,
दिपा र म । रातभरि जुत्ता लगाएर हिडेको पानीमा बालुवा पसेर रगडिएका
खुट्टाका छाला खुल्सेको देखेपछि दया लाग्यो होला घरबेटी आमाले हामी
निदाएको बेलामा हलेदो र तेल पिसेर लगाई दिनुभएछ । हामीलाई ती आमाको मायाले
निकै भावुक बनायो र सद्भाव पनि जागेर आयो । राम्रो काममा लागेपछि जहाँ पनि
माया र स्नेह पाइँदो रहेछ भन्ने अनुभूति हामीलाई भयो । आफ्नो जन्म दिने
आमाबुबालाई घरमा छाडेर वर्गीय आन्दोलनमा सरिक भएपछि सबै चीजहरु वर्गीयतामा
रुपान्तरित हुँदा रहेछन् । माया र स्नेहको दायरा पनि त्यही अनुसार फराकिलो
बन्दो रहेछ । नाताहरु पनि आफै उत्पन्न हुँदा रहेछन् । मकवानपुरमा हामी बास
बसेको घरकी आमाले हामीलाई स्नेहभावमा भन्नुभयो- ‘नानी, बाबु हो ‘ तिमीहरु
त टाढैबाट आयौ, साह्रै दुःख भयो होला है, अझ टाढा पुग्ने अरे .. जनताको
लागि साह्रै दुःख पायौ है ।’ देशमा शान्ति कहिले हुने हो भन्दै ती आमाले
लामो सास फेर्दै कुरा गरिरहँदा हामी पनि एकछिन गम्भीर भयौँ । खेती गरेपछि
एकदिन अवश्यै फल्छ नि भनेर आमालाई आशावादी बनाउनुभयो । हामीलाई जुन
शारीरिक पीडा थियो, हामीप्रति आमाको विश्वासले पीडालाई शक्तिमा बदलेको
अनुभव हुन्थ्यो ।
पीडा र कष्ट त असीमित नै भए तर हामी
जुन-जुन जिल्ला हुँदै गयौँ सम्बन्धित जिल्लाका साथीहरुले मायाका साथ सहयोग
गर्नुहुन्थ्यो । एउटा जिल्लाले बिदाई गथ्र्यो, अर्को जिल्लाले स्वागत ।
जनताको सामिप्यतामा जोडिदै हामीलाई यात्रा अघि बढाउन सरलता थपिदै गयो ।
पश्चिम आधारक्षेत्रका सेना पूर्वतिर जाँदैछन् भन्ने कुरा दुश्मन कहाँ
पुगिसकेको अवस्थामा सजिला बाटाहरु खुल्न गएकाले एक दिनमा पुग्ने ठाउँमा
दुई दिन लगाउँदै हिड्यौँ । केही रातहरु जङ्गलमै बिते तर हामीले हरेश
खाएनौँ । दुई दिनको आरामपछि मकवानपुर जिल्लाका साथीहरुले हामीलाई बिदाई
गर्नुभयो ।
सिन्धुलीमा सैन्यशक्ति केन्दि्रत भएर
हाम्रो पखाईमा बसेको रहेछ । मकवानपुरमा सेनाकै साथी हामीलाई लिन आउनुभएको
थियो । उहाँसँग शक्ति केन्दि्रकरण भएको ठाउँतिर हामी लाग्यौँ । तर, मनमा
भने धेरै कौतुहल र जिज्ञासा खेल्न थाल्छन् । पूर्वका साथीहरुसँग कसरी
घुलमिल हुने ? सहकार्य कसरी गर्ने ? यस्तै-यस्तै कुरा खेलाउँदै हामी
निश्चित गन्तव्यतिर पुग्यौँ । हामीलाई स्वागत गर्न पङ्क्तिबद्ध भएर लाईनमा
सैन्य टिम लागेको थियो । म भन्दा अगाडि ३-४ जना साथीहरु पास हुनुभयो ।
मेरो पालो आयो एकजना हेर्दा कमान्डरजस्तै मानिने कमरेड शुरुमा हुनुहुन्यो
। हात मिलाउँदै उहाँले मेरो नाम रसिक हो भन्नुभयो । मचाँहि चालै गरेन ।
अर्को कमरेडले पनि आफ्नो नाम बताएर हात मिलाउनुभयो । उहाँहरुको त्यहीको
विशेषता रहेछ, शुरुमै परिचय दिने तर हामीलाई कुरा बुझ्नै अप्ठयारो भएको
थियो । नाम सोधेपछि मात्र नाम भन्ने गरेका हामीलाई अप्ठ्यारो अनुभव भयो तर
परिचय मागेकै होला भनेर पछि मैले पनि आफ्नो नाम सम्झना भनेर परिचय दिन
थाले । त्यहाँतिर शुरुमै परिचय गर्ने तरिकाले हामीलाई छिट्टै घुलमेल हुनमा
सहजता पैदा गराएको थियो । त्यसपछि हामी पनि नयाँ कमरेडहरुसँगको भेटको
शुरुमै परिचय गर्न थाल्यौंँ । जहाँ हामीलाई पुग्ने सम्पर्क पार्टीले दिएको
थियो थवाङबाट त्यहाँ हामी ३४ दिनमा पुगेका थियौँ । र, पार्टीको
निर्देशनअनुसार कामकाजमा लागेका थियौँ ।
नौलो जनउभार साप्ताहिक बाट
नौलो जनउभार साप्ताहिक बाट