हराएको कवि

-अनुप जोशी

आज पनि कस्सिएर शिशिरले एक चड्कन हान्यो शरीरमा
छोरोलाई एक जोर नयाँ लुगा चाहियो रे
स्वास्नीको कान बुच्चे भएको तिन वर्ष पुग्यो रे
घरभेटी दुई महिना देखि खल्ति छामिरहेछन्
तर म अझै रुमलिरहेछु
यौटा हराएको कवि सीघ्र भेटिने आशामा ।

प्यारीले मन्दिरमा डोहोर्याउँदा
ऊ चिहानघर भनेर तर्किन्थ्यो
बगैँचाभरी उन्यू र धुपीहरु फूलाउँथ्यो
झरीरहेको बैँसलाई बिचैमा क्याप्चर गर्ने
ऊ चित्रकार पनि थियो
रंग वेगरका चित्रहरु कोरिबस्थ्यो ।
उसले कहिल्यै देशलाई माया गरेन
अर्थात: सिमानालाई माया गरेन
ऊ फगत मनहरुमा गाँसियो
निहत्ता जीवहरुमा बाँडियो ।
आत्म स्पन्दनमा उर्लिएर
ऊ कहिले वतास उँड्यो
कहिले जिन्दगी उकालै उकालो दौडियो ।
तर अहिले साँझ पर्दा घाम हराएजस्तै
ऊ कतै हराएको छ ।

चिन्ताको विषय त यो छ
कि उसितै उस्का कविताहरु पनि कतै दुर गएका छन्
छालहरुले किनारालाई पखालेर गएजस्तै
उस्का पाण्डुलिपिहरु कसैले मेटाइदिएको छ
उसले लेखेका समयप्रतिका सहानुभूतिहरु ,
पृथ्वीका अपहेलित आख्यानहरु ,
सपनीका स्वरुपहरु ,
अग्निकुण्डका चतुर्याइहरू
आज सबै गुमनाम भएका छन् ।
र म अहिले लक्ष्मीपूजामा धन दौलत मागेर
प्रत्येक दैनिक अखवारहरुमा छपाईरहेछु
यौटा कवि हराएको सुचना ,
आफै हराएको सुचना ।