!! ठाड़े छड्के गजल !!

 


दुनिया सारा हसाई हाल्यौ, अब के नै बांकी छ र ?
बिना-सित्ति रिसाई हाल्यौ, अब के नै बांकी छ र ?

धन भए पुग्ने तिमी लाई , दश तीर नाता गांस्दै,
तोरी-लाहुरे फसाई हाल्यौ, अब के नै बांकी छ र ?

बिष हो रे माया भन्थे, अमृत भन्दै पछि लागे,
झुटा प्रीत ले डसाई हाल्यौ, अब के नै बांकी छ र ?

तिम्रो मेरो अर्कै संसार, मिलेर बसाउला भन्थ्यौ,
आफ्नो संसार बसाई हाल्यौ, अब के नै बांकी छ र ?

साथ दिन्छु भन्यौ तिम्ले, बादल संगै उड़दै थिए,
भुइमा झ्याम्म खसाई हाल्यौ, अब के नै बांकी छ र ?

पाइन भने तिमी लाई, रोई - रोई मर्छु भन्थ्यौ,
एक छीन आँखा रसाई हाल्यौ, अब के नै बांकी छ र ?

तिम्रो मेरो प्रीतको डोरी, बालियों गरी कस्छु भन्थ्यौ,
मंगल-शुत्र कसाई हाल्यौ, अब के नै बांकी छ र ?

तिम्रै हु म सधै भन्थ्यौ, पराईको रातो सिन्दुर ले,
सिउंदो तिम्रो धसाई हाल्यौ, अब के नै बांकी छ र ?