गजल - नरेश रोकाहा
नरेश रोकाहा
चढेको त्यो नशा मात्रै पिएको मात तिम्रै हो
झरेको फूल टिपी पींडा नठान्ने हात तिम्रै हो
तिमीलेनै रची छाड्यौ एकोहोरो कहानी यो
रमाएरै खुसी मानी म रम्ने साथ तिम्रै हो
उमंगमा पिरै बिर्सी भरेका ती तिनै पाना
तखातामा सजाएका चिठीका खात तिम्रै हो
रुदै जल्दै सधै एक्लै तिमी हाँस्ने जुनेलीमा
म हारे जल्छु पींडा यी नभुल्ने बात तिम्रै हो
जवानीमै नफक्रेको झरेको फूल भएँ आँफै
बसन्तैमा मनै जल्दा नढल्ने रात तिम्रै हो
बहर –हजज