माहूरीको जुलुस ..!

जीवित खड्का मगर



पातहरु पलाईसकेको छैन
फूलहरु फुलिरहेका छैनन्
झरेपछि -
बगैचाबाट,रुख-रुखहरुबाट
बुटा-बुटा,पोथ्रा र हागा-हागाहरुबाट
माहुरीहरु त्यसैले छन् जुलुसमा ,
हामी यसैलेपनि आकाशको छतमूनि
सधै खडेरी अघाउनुपर्थ्यो  |
.
झरिपछि - 
खेतखेत-बारीबारी
हरिया-हरिया चौबन्दी र फरिया
पहिरन बोकेर डाडा र पाखाहरुसंग
भिर-पखेरा अनि जंगल र शाखाहरुसंग
प्रीत पोख्ने बादलहरुपनि
बर्षौ वर्षदेखि हराएको
मूग्लानकै खसमजस्तो
उसकै न्यानोले
जीवनभरि तृष्णाको हत्या गरेकी महिलाझैँ
फेरी चाडै फर्की आउने बादा गरेर समेत
पर्वतको शिखरमाथि आकाशमै हराएपछि
कसरी उब्जन्थ्यो र अन्नबाली खेतबारीमा ?
तर आमाले भोकको आगोमा पाकेको
अथाह पीडा पिएरपनि  
पटुकाको सप्कोमा बाँधी राखेको
पूराना केहि मोहर र बिस रुपियाको नोट
अनि माथ्लो तलाको एक कुनामा
दुई/चार माना मकै त राखेकै रहिछिन
जतिखेर हामी सानो छदाँ
भोकले धरधरी रोएको सम्झना छ आमासंग |
.
कथाजस्तो .. !
कहानीजस्तो लाग्ने
त्यो स्मृतिको फेरी चर्चा गर्दैछु म ,
कस्तो फसाद थियो !  भोक लागेको बेला  
त्यसैले भनिन् आमाले मलाइ,
जाउ बाबु !
छिमेकी कहाँबाट आगो लिएर आऊ
म छिमेकीकहाँ आगो माग्न गए
तर छिमेकीले आगो दिन कन्जुसाई गरे
म अर्का दोश्रो छिमेकीकहाँ गए
त्यहाँपनि त्यस्तै जबाफ पुनरावृति भयो
म फेरी तेश्रो छिमेकीकहाँ गए
आफ्ना सबै समस्याहरु दर्शाए
तर दिएनन् आगोको सापट कसैलेपनि ..
उफ् !
भोकले ज्यान गलेको थियो
रिसको झोक बलेको थियो
र पनि लाथ्र्याक लाथ्र्याक ..एक्कासी
मौनतामा क्रन्दनले पाइला रोक्यो 
संघारमै सूर्य ढलेको समय रैछ क्यार !
झ्पाप्प अध्यारोले छोप्दा
क्रन्दनले रोइरहेको आमालाई देखे  
भाई र नानीलाई देखे
र अझैसम्म देखिरहेछु
त्यो दिनदेखि
थुप्रै रोईरहेका आमाहरुलाई
छोराहरुलाई .., नानीहरुलाई ...|
.
आज
मेरो कथाजस्तै
अर्का स्मृति-स्मरण गर्दैछु
र बुझ्दैछु / जान्दैछु म ,
हिजो ती जो रोइरहेका थिए
आमाहरु / छोराहरु / नानीहरु
तिनै आज आक्रोशले उभिएका छन्
उभिन सक्ने भई सकेका छन् -
गाउ-बस्ती / सडक र शहरभरि  
''राता'' मान्छेहरुका बिरुद्ध
''सेता-काला''मान्छेहरुका बिरुद्द  
जसले हाम्रो ठाऊलाई
सधै कालो झण्डा ओडाएर
अध्यारो ओझेलमा राखेका थिए  |