कविता-“फर्केर हेर्दा डायरीका केही पेजहरु”


धेरै पछि आज पल्टाइरहेछु मनको अभ्यस्त डायरी
जहा, देखिइरहेछन्
शव्द भावमा चुर्लुम्म डुबेका
दर्जनभन्दा केही बढी
काचा अर्थात् 
अपरिपक्व पत्र बिन्यासहरु!!
थोरै हलुकिन्छ मन
आभासलाई कोल्टे फर्काउँछु
खोलीको सुख्खा बगरमा
चपली डाम सजाउँदै
उनको लेक- मेरो बेसी
मेरो बेसी-उन्को लेकसम्मका
  सुसज्जित यात्रात्मक मझेरीहरु!!
अर्को पेज पल्टाउछु
आश्चर्य लाग्छ,
म “प्रेमी” भइसकेको हुन्छु कसैको
हलक्क बढेका बासका मुनासरी
मेरा दुधे ओठहरुले
प्रेम फड्कार्न थालेको पाउछु
प्रेम बर्बराउन थालेको पाउछु
उनी पनि आफूजस्तै तन्नेरी भएको पाउछु
अर्को पेजभित्र
उनको भैलोमा 
भैलेनीको पगरी गुथी
कुसुमटारको फेदबाट 
केही घर भैलेनी नाची
सयपत्रीका केही झोक्काको 
प्रेमील आभास पिउदै
अरु भैलेनीवाट छलिए
र जुनकिरी बाल्दै
घरमुनीसम्म पुगेको 
कत्ति काइदाको दृश्य!!
अर्को पेजमा दौडिरहेछु म
घरै छेउबाट बिदाइ गर्छे मलाई ऊ
अब अरुकी नहुने कसम खादै
त्यसपछि तीन वर्ष छिमली 
म आफूलाई शब्दाकार पाउछु
बिलीनतापछि होसमा आएको “ध्यानी” झै
अर्को पेजमा,
म निसास्सिरहेछु
कुसुमटारको अन्तिम हासो बोकी
  ठिङंग उभिइरहेछे ऊ
सम्झन्छु त्यो चित्र जस्ताको तस्तै म
यस्तो लाग्छ- ऊ तामाजस्ती बढिसकी होली
तरुनी भइसकी होली
पुतलीजस्ती सुकुमारी भइ सायद !
तरपनि अभ्यस्त भेट !
कताकति हत्केलाहरु
तस्बीर सुम्सुम्याउन पुगिरहेछन्
त्यही तस्विर,
जुन उसले मलाई चैते दशैको मेलामा
उसको लेक जादा 
मलाई उस्को छातिमा टमक्क कसी
उपहार दिएथी-सम्झनाको-बिर्सनाको !!
ऊ थोरै काउकुतिएजस्तो लाग्छ
थोरै सर्माएजस्तो लाग्छ अनि लाग्छ 
उस्को जस्तै कलिलो जवानीको रहर मलाई
तर...............।।

दिनेशराज पुरी
  सुनारपानी-९ रामेछाप