मनु लोहोरुङ्ग भन्छिन्– हो, म अचेल गर्भवती छु


 –तिब्वत दर्लामी
 काभ्रे, साल्धारा
 ~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~
फेसबुकको सँघार टेकेर भर्चुअल दुनियालाई चिहाउदै थिएँ । पर सिर्जनाको महासागरमा अक्षरका डुँगा खियाउदै गरेकी मनु लोहोरुङ्ग लाई देखें र देखें मनुको जस्तै मन भएका साहित्यका अरु सारथीहरुलाई । र मेरो मन उतैतिर लहसियो  जहाँबाट साहित्यको पराग फैलिरहेको थियो अनन्त धर्ती–आकाशसम्म ।
शितलपाटी, संखुवासभामा जन्मिएकी कवि लोहोरुङ्ग यात्रारत जीवनको अनेक घुम्तीहरु पार गर्दै बेदेशिक रोजगारको शिलशिलामा इजरायल पुगिन् । इजरायल बसाईकै क्रममा हाम्रो भेट भएको हो यो अत्याधुनिक इन्टरनेट सञ्जालमा । फेसबुकमा बाक्लो भेटघाट पछि हामी दिदी भाईको साइनोमा बाधियौं । हो, उनै दिदी मनु लोहोरुङ्ग र उनको काब्य कृतिको बारेमा आज जानी नजानी केही शब्दहरु कोर्ने जमर्को गर्दैछु ।
गीत, गजल, कविता, गेडी, मुक्तक ,हाइकु लगाएत साहित्यको विविध विधामा बिचारशिल कलम चलाउने एक शशक्त नारी हस्ताक्षर हुन मनु लोहोरुङ्ग । प्रगतिशिल विचार र दर्शनको भावभूमीमा टेकेर जीवन र जगतका सारा ब्यथितीहरुमाथि धावा बोल्दै आशा र उमँगको सुनौलो वस्ती निर्माणको पवित्र आब्हान पाइन्छ उनका काब्यिक सिर्जनाहरुमा । हो, उनै कवि मनु लोहोरुङ्गको कविता सँग्रह “लुङ्मारी मिथक” मेरा साथमा छ यतिबेला ।
कविताको विमोचन समारोहमा म पनि थिएँ दर्शकदिर्घामा । बैरागी काँइला, कृष्ण धरावासी, मोमिला लगाएत अरु बरिष्ठ काहित्यकारहरुको विचार टिप्पनी प्रत्यक्ष सुन्न पाएको थिएँ । त्यो पल सम्झदा रमाईलो लाग्छ अहिले पनि ।

याहाँनिर कवि र कविता सँग्रहबारे केही अग्रजहरुको विचार राख्न उचित ठानेकोछु ।

“लुङ्मारी मिथकले जगतमा हामीलाई युगीन सम्बोधन गरिरहनेछ र कवि मनु लोहोरुङ्ग को प्राप्तिले हाम्रो छाती गर्वले फुलिरहनेछ । त्यो भन्दा पनि हाम्रो चेतनाको वायुमण्डल सँधै उजेलिनेछ ।” –खगेन्द्र पान्धाक लिम्बू

“मनुका कवितामा म कतै न कतै पारिजातको सुगन्ध अनुभव गर्छु ।” –कृष्ण वस्ती

“यो सँग्रहको नाम मैले जुराउन पाएको भए टेरेलिनको गिदी राख्नेथिएँ ।” –कृष्ण धरावासी विमोचन समारोहमा बोल्दै ।

“लुङ्मारी मिथक भित्र समेटिएका सबै कविताहरुले हाम्रो भावी पुस्ताका काब्यिक चित्रणलाई आजको दिनमा उजागर गरिदिएकाछन् ।”
– बलदेव भट्ट बिहानी

कविता सँग्रहभित्र आधी आकाशको गीत, अनवरत यात्रा, हिटलरी आँट लिएर जम्मिनेछु, युगबोधको उछाल, बन्द संसारलाई गरिएको खुल्ला सम्बोधन जस्ता थुप्रै उत्कृष्ट कविताहरु छन् ती कवितारुमध्ये मैले बारम्बार पढेको कविताको एक अँश–

हो, म अचेल गर्भवती छु
मेरो भ्रुणदानीमा
सदियौं देखि बेहिसाब रहेको
मानव इयत्ता नाप्ने
एक अबोध बालक छ ।

यो कविता पढ्दा मेरो आँखामा मेरै देशको तस्वीर छाउँथ्यो । लाग्थ्यो मेरो देश गर्भवती छ । सिँगो युगलाई हाँक्न सक्ने एक नव शिशुको पखाईमा थिए सारा नेपालीजनहरु । छ सय एक सुँडिनीहरु तल्लिन थिए सफल शल्यक्रिया गर्न ।

समयसँग बर्षौं सम्भोग गरेर
मुश्किलले गर्भाधान भएको थियो
यसकारण कि,
बगुन्द्र मान्छेका सपनाहरु
मेरो नाबालक हेर्ने रहरमा
सडकको विचैमा पोखिएका छन्
बेफिक्री आफ्नै रुखो पाखोमा
हजारौं आत्महरुको दहन भएको छ
त्यही सपनाहरु बटुल्ने
त्यसैको लागि नसियत दिने
बालक मेरो गर्भमा छ
हो ! त्यसैले म गर्भवती छु ।

 

कविताका हरफहरुमा सिँगो देशको आवाज धन्किरहेको छ । एक गर्भवती देशको अन्तरआत्मा बोलिरहेकोछ । एक मातृत्वको रहर र चिन्ता पोखिएको छ । गर्भवती कविले त लुङ्मारी मिथक जस्तो शशक्त शिशु जन्माउन सफल भईन जुन शिशु आज हजारौ साहित्यिक मनको न्यानो स्पर्श पाएर हुर्कदैछ तर गर्भवती देशको हाल चै......!!? हो, गर्भवती देशको हाल चै यस्तो भयो–

आज म आफै लज्जित छु
मैले एउटा बालक जन्माउन सकिन
देशको जनस्वास्थ्यले
मेरो पेटको शल्यक्रिया गर्नै सकेन
अप्रिय नीति
र.......त्यो संस्कारको
शल्यक्रिया गर्नै सकेन,
थुइक्क...
यो देशको जनपथिक डाक्टरहरु
मेरो गर्भमा रहेको बालक जन्माउने
मिति तोक्नै सकेनन् ।

मेरो देशको क्रन्दन हो यो । याहाँ छसय एक सुडिँनीहरुको मेहनत खेर गयो । नेपाल आमाको महान युगीन सपना तुहेर गयो । याहा गर्भे शिशुको जन्म मिती तोक्ने कुनै डाक्टर भएन । कविकै भनाई अनुसार यहाँ जनपथिक डाक्टरहरु सत्ताको आलिँगनमा अन्धो भएको कारण देशको सपनामाथि तुषारापात भो ।

रमेश पौडेलको सुन्दर आवरण कलाभित्र सुसज्जित करिव ३२ वटा उत्कृष्ट कविताहरुले लुँमारी मिथकलाई एक सँग्रहनिय कृतिको रुपमा समग्र पाठक मनहरुको अघिल्तिर सगर्व उभ्याएकोछ  । नेपाली प्रतिभा प्रतिष्ठान बेलायत ब्रुनाइले प्रकाशन गरेको यो कृतिको नेपाली मुल्य रु १०० रहेको छ ।