समय-सन्दर्भ : खडेरी लागेको मन र असार



- गणेश खड्का


"हरियो भन्नु सालको पात पहेंलो बेसार
यता नि पानी उता नि पानी लागेछ असार ।
पानीलाई पर्‍यो लै रिमिझिमी रुझ्यौ कि रुझिनौ
आँखाको चालले बोलाएँ मैले बुझ्यौ कि बुझिनौ ।"

प्रिय सखा डल्ली,

असारको यो झम्के झरी सँगै सुमधुर सम्झना तिमीलाई ।
संपर्क बिनाका थुप्रै वशन्तहरु बितिसक्दा पनि तिम्रो खुट खबर पाउन सकिन , न त तिमीले नै जिन्दगीको कुन सास्ती खेपिरहेको मेरो पत्तो पाउन सक्यौ होला । खोइ कुन्नी कहाँबाट दिलसराले पत्तो पाइछे मेरो टुङ्गो र चार हरफ लेखी पठाइछे सँगै तिम्रो पनि अस्पस्ट ठेगाना नत्थी गरिदिएकी रहिछे। मात्रै झझल्कोसँग चित्त बुझाईरहेको मेरो मन किन मान्थ्यो र ? तिमीसामु पुग्ने यत्ती मात्र पनि बाटो मेरो लागि काफी भइहाल्यो । पाउन त पाउछ्यौ कि पाउदिनौ तै पनि धर दिएन यो मनले । फलस्वरुप सम्झनाका यी लघु शब्दहरु तिमी सामु प्रेषित गरेको छु पुगोस् नै भनेर ।

प्रिय डल्ली,
छातीभरी देश बोकेर विवश प्रवासी जीवन ब्यतित गर्नु आफैंमा कत्ती कष्टकर हुंदोरहेछ पाइला-पाइला भोगिरहेछु यो घडी म । सहयात्राका कयौं सुमधुर क्षणहरु चलचित्रका द्रिश्य झैं एक पछी अर्को खसिरहेछन् आँखै अगाडि । तर तिमी छ्यौ कतै दूर देशमा र म छु भूगोलको यो अनकन्टार कुनामा । थाप्लोभरी रिनको भारी बोकाएर भाग्यको जस्केलाबाट जीन्दगिले निर्दयी धकेलिदिएपछी म बिचरो संघर्षको मैदानमा होमिनु बाहेक के नै गर्न सक्थें र अरु ? आज सपना जस्तो लाग्छ हामी मध्य को कहाँ पुग्यो को कहाँ ? जीन्दगिको एउटा पाटो सँगै धकेलेथ्यौँ हामीले । हाम्रो बाल्यकालदेखी तरुण हुँदासम्म मरिहत्ते गरेर जीन्दगीका सबै अवयवहरुमा साथ दिने ती हाम्रा थुप्रै सहेलीहरु कहाँ -कहाँ छन् र के गर्दै छन् ? मसँग अत्तोपत्तो छैन। ती सबै मध्य तिमी विशेष लाग्छ्यौ मलाई । अधिक सम्झना छ यो छातीमा तिम्रो । अब त तिम्रो घरजम पनि भयो होला । त्यो पुष्ट वदन त्यसै-त्यसै झोलायो होला मात्रीत्वको गहिरो सुवासना छर्दै । यही त हो संसारको रित, हामी कोही पनि प्रीथक रहन सक्दैनौ यसबाट । डल्ली, आफ्नो नित्य कर्मको एक फेरो घुमेर फेरी असार हाम्रो सामु आइपुगेछ। भनौ न असार लागेछ, अझ भनौ वर्खा लागेछ। नास्पात्ती, आरुबखडा र ऐंशेलुको झ्याङ्गमा झुम्मिएको त्यो क्षण सम्झ त ?

"पानी पर्‍यो सालघारी करायो
वर्खा लाग्यो भेटघाटै हरायो ।
नाच न बाउसे नाच न रोपार दबदबे हिलोमा
छुपुमा छुपु धान है रोप्नु असारे पन्ध्रैमा ।"

मानो रोपेर मुरीको सपना साँच्ने मौसम हो यो । र यही हो तिमीलाई मैले सबभन्दा बढी सम्झिने याम । हामी कत्ती रमाउथ्यौ नि यो बेला ? हरेक कर्मवीरले कम्मर कसेर माटोसँग मुटु साट्ने समय यही त हो । पसिनामा मोती फलाउन कहाँ जानु पर्थ्यो र शान्ती भए आफ्नै भूमिमा । असारको यो रिमझिमसँगै अतितको एउटा मिठो अनुभूतिले हर घडी चिमोट्ने गरेको छ मलाई यती बेला । कती ब्यस्त रहन्थ्यौ नि हामी यो मासमा ? एक दिन भेट नहुँदा कती अँध्यारो लाग्थ्यो जगत नै । गैरी खेतको बेठीमा हिलो खेल्दा दुबै जना एकै साथ हिलोमा पछारिएको त्यो हिलाम्य क्षण र लाजले स्याउ बनेको तिम्रो गाला मेरो मानसपटलबाट मेटिएला र त्यसै ?

मेरी प्रिय सखा,
हामीले भोगेको त्यो सुमधुर समय अहिले पुरै उम्केर गैसकेछ हामीबाट । परिस्थिती कहाँ त्यो बेलाको जस्तो सहज रह्यो र अब । गाउँमा एउटाको रोपाईं भयो भने पुरै गाउँ नै उल्टेर काम फत्ते गर्ने त्यो मिलेमतो , त्यो सद्भाव र भाईचारालाई अहिले एउटा खेताला पनि नपाउनुले गिज्याइरहेछ। यती सम्म कि तन्नेरिहरुको पलायन ले गाउँमा जन्ती -मलामी पाउन छोड्यो भनेको सुन्दा त्यसै -त्यसै बिरक्तिएको छु ।

"खोला पारी म मायाँ लाउँदिन
वर्खा लाग्यो आइरहन पाउँदिन ।
छुपुमा छुपु धानैमा रोप्नु हातैमा विउ छउन्जेल
मिठैमा खाउँला राम्रैमा लाउँला हजुरको जीउ छउन्जेल ।"

कामको चटारोले आफ्नी प्रियालाई भेट्न समेत नभ्याउने मनहरु यतिबेला कर्तब्य छोडेर विध्वंसतिर वहकिएको देख्दा -सुन्दा मन कटक्क काटिएर आउँछ। काम गर्ने मान्छेको अभावमा सिम खेत बाँझो हुनुको पीडा एउटा कृषि प्रधान देशको लागि कती जर्जर होल। कल्पना गर त ? फेरी जब मानव जीवन खाद्द्य असुरक्षा र भोकमारीले जकडिन्छ हामीले आफुलाई क्रीषी प्रधान देश को बासिन्दा भन्न लाज लाग्छ नि होइन र ? छलकपट र अपराध मिसिएको राजनीती हाम्रो देशको सबै भन्दा ठुलो अभिषाप बन्यो । संसारका सबै युवाहरु आफ्नो देश बनाउन जुटिरहेको बेला हाम्रातिरकाहरु चाहीं भत्काउन अभ्यस्त बने। सामाजिक मूल्य र मान्यतालाई चटक्कै भूलेर पाखण्डी र आडम्बरी हुनु हाम्रा युवाहरुको दैनिक जीवनशैली बन्यो । आफुले नैतिक शिक्षा, जीवन पथ र कर्मभूमि देखाएर सँगै डोहोर्याएको मूर्ख पथिक आफ्नै सारथिप्रती आक्रमक बन्छ भने त्यो स्वार्थ र अवसरवादको पराकाष्ठा होइन भन्नु झन् अज्ञानिपन हो। संसारमा यस्तै बेइमानिहरुले शान्त तलाउमा ढुङ्गा हान्दा रहेछन्। मेरै परिसर यस्तो दूषित बातावरणबाट अछुत रहन सकेन। थुप्रै देखेको र भोगेको छु मैले। यस्तै परिस्थिती तिम्रो पनि जीवन भोगाइको एउटा पाटो नबनिरहेको होला भन्न सक्तिन म । बस् चनाखो रहनू ।

प्रिय डल्ली,
असारे गाउन तिमी माहिर थियौ । तर अब त अधम हरुले धावा बोलेको गाउँ वेंसीले संस्कृति पनि भूलिसक्यो होला। न हाक्पारे, न रोधी, न दोहोरी, न असारे, न त देउसी-भैलो नै । यो क्षण , यो असार याम , यो पानीको रिमझिम। फेरी मलाई त्यही मिठो अतितले झस्काउँछ। असारको दबदबे हिलोमा रातो पटुकीमा सजिएकी तिमी, अनि मेशिन सरी चल्ने तिम्रा हातहरुले धानको बिउ रोप्दा तिम्रा चुराहरुबाट जाग्ने रोमान्चकारी ध्वनीले अद्द्यावधी मलाई रोमान्चित पार्ने गर्छ। कहाँ छिपेको छ र यो मुटुबाट त्यो क्षण ? डल्ली, तिमी एउटी चन्चले युवती मात्र नभै सिर्जनाकी मुहान पनि हौ असार जस्तै । एउटी साहसी नारी चरित्रको छवीमा देखेको छु मैले तिमीलाई । मलाई अहिल्यै जस्तो लाग्छ - शैलजा दिदी नेपालको प्रथम महिला उपप्रधानमन्त्री हुँदा तिमी खुशीका अश्रुधारा बगाउदै फुरुङ्ग भाकी थ्यौ एउटा अदम्य साहस र उत्साह बोकेर। शायद थाहा पयौ नै होला तिनै तिम्री वीरङ्गना अब हामी सामु रहिनन् । कत्ती रोयौ होला नि फेरी ती साहसी महिलाको अवसानमा तिमी ? के गर्नु, राम्रो मान्छेलाई झूठ बनाउने अनौठो संस्कृतिमा विवश हेलिनु परेको छ तिमीले, मैले र हामी सबले। गरीब जनताको स्वतन्त्रता खोसेर तिनैको विश्वास माथि कुठाराघात गर्ने किसिमको दुषित राजनीतिक संस्कार नसुध्रेसम्म हाम्रो नियती पासोमा परेको हरिण भन्दा काम जर्जर नहुने भयो ।

प्रिय बालसखा ,
प्रकृतिमा असार बर्षे पनि मनमा भने खडेरी लगेको लाग्यै छ । अभावले थाङ्थिलो गृहस्ती , चुहिएको छानो र चर्किएको घरको भित्तो टाल्ने उपक्रम मात्र प्रवासीनुको कारक तत्व बनेन। आँफैंले आर्जेको घरबार आफ्नै भन्न नपाउनु पो सङ्गीन पीडा बन्यो त हाम्रा लागि। देशका अधिकाशं जनताहरु खान नपाएर भोक भोकै मर्न वाध्य भईरहेका बेला हाम्रा नेताहरुलाई कुर्सी र पदका लागि लुछाचूंडी गर्दै फुर्सद भएन। कहिले कहीं त यस्तो लाग्छ - यी गिद्द हरुलाई किन कालले एकै चोटि लाँदैन ? देशको कुरा छोडेर, राष्ट्रियता र स्वतन्त्रताको चिन्ता भूलेर खाली ब्यक्तिगत हुने हो भने तिमी सँग बिताएका पुराना दिनहरु सान्त्वनाका श्रोत बन्ने गरेका छन् मलाई यो बिरानो माटोमा । सम्झिन्छु, तिमीले मेरा उपर दर्शाएका ती अनगिन्ती प्रेमाभावहरु । तिम्रो शुलभ नारी आत्माको पूजा गरेर कहिले थाकुँला र म ? रेडियोमा मेरा नाटकहरु बज्दा तिमी गाउँभरी खुशखबरी गर्दै हिंड्थ्यौ। नाटक बज्ने तिथी मिती पुरै कण्ठ हुन्थ्यो तिमीलाई । ठीक समयको उर्दी गर्दै रेडियो खोल्न घर-घर पुग्थ्यौ तिमी। अझ यत्ती सम्म कि कामको चापा चाप परेमा सानो हाते रेडियो पोल्टामै बोकेर मेला पात जाँदा कत्तिले तिमीलाई नक्कली पनि भने होलान्। गाउँ छोडेर म हिंड्ने बेलामा पिलपिल आँशु झार्दै- 'अब त यो गाउँ मा कहिले नाटक खेल्न पाइएला र ? कहिले नाचगान गर्न पाइएला र ?' भनेकी तिमीले अझै पनि मेरो कानमा गुन्जिरहन्छ उसैगरी । जे होस्, संस्कृतिप्रतिको तिम्रो लगाव साँच्चै प्रसंसा गर्न लायक छ। विध्वंशकारी हरुलाई पाखा लगाएर आफ्नो संस्कृतिका अमूल्य धरोहरहरुलाई बचाइराख्नु तिमी जस्ता कर्मठ नारीहरुको कर्तब्य हो । यो असारमा पनि तिमीले उस्तै पारामा उही भाकामा रसिया भन्नेछ्यौ, असारे गाउनेछ्यौ । जन्मघर भए नि कर्म घर भए नि आखिर नेपाल मै त छ्यौ होल। । यही त हो हाम्रो पुण्यभूमि, जन्मभूमि र कर्मभूमि। आरक्षण र अधिकारमा प्रतिशतको नारा उरालेर दाजु-भाइबीच मल्ल युद्द मच्चाउनु भन्दा क्षमता र पौरख प्रदर्शन गर्नु बढी श्रेयश्कर ठहर्छ। तिमीले त्यही गर्नेछ्यौ जो समाज हितको पक्षमा हुनेछ। मनभरी खडेरी लागे पनि असार को सिङ्गै रिमझिम तिमीलाई। तिमी मार्फत असारको रसिलो शुभकामना सबै नेपाली क्रीषक दाजुभाइ-दिदीबहिनिमा बाँड्न चाहन्छु । बस् ।

तिम्रो बाल सखा
जीवन संघर्षको मैदानबाट ।


"रिमिमाझिमी पानी है पर्‍यो असारे मासैमा
हिंडेको हामी धान है रोप्न वेंशिको फाँटैमा
बियाडे दाजु बिउ काढी ल्याउनु बाउसेले बिउ दिनू
हली है दाजु हल गोरु साउँदै हाँसेर गाइदिनू । "


( नोट :- केही वर्ष अगाडि नै असार को छेक पारेर लेखिएको यो लेख उतिबेला नै केही पत्र-पत्रीका र वेव पेजहरुमा प्रकाशित सामग्री हो । केही प्रसङ्गहरु पुराना भइसकेका भए पनि समय-सन्दर्भ को मौका छोपेर फेशबूक का समस्त सिर्जनशिल मनहरु समक्ष बाँड्ने रहर लागेर यो भित्तामा टाँसें । बाँकी यहाँहरुको जिम्मा । धन्यवाद ! )



BHOJPUR
Now :- FREGATE ISLAND PRIVATE
SEYCHELLES