स्व.जगु खड्का मगरको सम्झनामा-

-जीवित खड्का मगर

बलेको टुकी बतासले अन्धकारमा निभाएझैँ लाग्यो
कलिलो घाम बिहानको क्षितिजमा बिलाएझैँ लाग्यो
बस्तीका गीतहरु तिम्रै चिताको आगोमा सेलाएझैँ लाग्यो
जसै ल्यायो हावाले तिम्रो मृत्युको खबर
पटकपटक आखाको पानीले भक्कानिएर भिज्दा
सात समुन्द्रपारि पनि देहमा भूकम्प आएझै लाग्यो |
.
भाई र आफन्त भएरमात्र मेरो प्रिय भएका थिएनौ तिमी,
तिमी त भिजेका परेलीपरेलीहरुमा समेत
आखाको नानी जत्तिकै प्रिय भएका थियौ |
.
अहिले पनि सम्झना छ मलाइ -
वस्तीका खेतखेत, बारीबारीमा बादरहरु आउदा
ओडारओडारबाट हुडारहरुले धुक्दा
र आगन वरिपरीका कुखराका चल्ला अनि परेवाका बथानहरुलाई
माथि आकाशबाट बाज र चीलहरुले झम्टिन खोज्दा
अथवा सिस्नोले झांगिएर घरबारी,करेसाबारी डम्मै हुदा
त्यतै ठुल्ठुला ढुंगाहरु सेता दात देखाएर डीच्च हासिरहदा
तिमी सिस्नोका झ्यांगहरु फाड्न हसिया लिई हिडेको
ढुंगाहरु फोड्न हथौडा लिई घुमेको
बादरहरु धपाउन लहरा तान्दै पहरापहरा पुगेको
ओडारका हुडारहरु , या आकाश-धर्ति आतंकले चाहार्ने
चिल र गिद्दहरु मार्न बारुदको बाटोमा बन्दुक लिई कुदेको |
अहो, कस्तो साहस र शक्ति थियो तिमीमा -
हेर्दा दुब्लो-पात्लो भैकनपनि
सधै रसिलो र हसिलो थियौ तिमी
आकर्षक जीउडाल थिएनहोला ,छुट्टै कुरा हो
तर सधै नम्र,तेजिलो र चम्किलो थियौ तिमी
हाम्रै घरदेखि पारिपट्टि युगौदेखि प्रताडनाले उभिएरपनि
कहिले नझुक्कने अग्लो रेसुंगाको शीरझैँ शीरमा उभिएका थियौ तिमी
र चट्टानजस्तो छातीको-माटोमा बिश्वासका फूलहरु उमारेर फूलाउथेउ तिमी
त्यसैले जब उन्मुक्तिको तिम्रा स्वरहरु मन्चमा बाघझैँ गर्झिदा
गडगडाहट तालीसंग मैले पनि कयौपटक
अभावग्रस्त जिन्दगीका पीडाहरु भूलाएको याद छ |
तर यतिखेर
तिम्रो मृत्युको खबरले म भाबबिह्हल छु
बिचलित, अधीर र अशान्त छु
आखाको नदीमा उर्लेका छालहरुसंग
सुकेका काठमा मुडाझै उत्रदै छु , डुब्दै पनि छु |
.
स्वर्णिम जिन्दगीको तीस वर्षपछि,
हुनत तिम्रो मृत्यु असामयीक भएको थियो
तर सत्य म यो पनि भन्छु ?
कवि हरिभक्त कटुवालको जस्तै तिम्रो जिन्दगी थियौ
फरक - कटुवाल प्रबासीबाट घरबासी हून चाहेका थिए
तिमी घरलाई '' बासी '' हूनबाट जोगाउन खोज्ने मान्छे थियौ
र अन्त्यमा साथमासाथ,हातमाहात नपाएर
कटुवालझैँ रक्सीको गिलासमा हाम्फालेका थियौ
तर दूर्भाग्य ! त्यही गिलासको कुवामा
यमराजले तिमीलाई भेटेको रैछ |
-
मृत्युबिनाको अधुरो यो संसारमा
हामीपनि मृत्युलाई छुटाएर बसेका छैनौ धर्तीमा !
दिनदिनै मृत्युले मारिरहेको यो समय
जब म तिम्रो बाटो खोज्नेछु
तबमात्र एक सच्चा,देशभक्त र कर्मठ भाईको सम्झनाको सार्थक हुनेछ
अनिमात्र तिम्रो सच्चा श्रदान्जली हुनेछ |
----------------------------------------------------------------------------------------------------------------------------
[ गत वर्ष साउदीबाट मैले फोन गर्दा पाटन हस्पिटलको बेडबाट '' दाई ! अब म सन्चो हुन्छु '' भन्दै थियो ,तर त्यसको केहि दिनपछि जन्डिसको बिमारी भाई यो संसारबाट कहिले नफर्कने गरि बिदा लिएर गयो | - छोटो उमेरमै ऊ स्थापित कम्युनिस्ट कार्यकर्ता थियो , मेरो गाऊमा रहेको माध्यमिक विद्यालय ब्यबस्थापन समितिको अध्यक्ष थियो , शिक्षक पनि थियो , बिभिन्न संघ-सस्था र सामाजिक सेवामा निरन्तर सक्रिय थियो .. हरे ! म यो कविता पटकपटक भक्कानिएर रुदै लेखेको छु ]
 
स्व. जगु खड्का मगर |