तिम्रो मुटु कति छोला हगी

-सुवास संगम राई

यादै यादले प्रिय तिम्रो मुटु कति छोला हगी|
सम्झनामा आत्मा पनि कति धेरै रोला हगी|

सुन्छु अचेल टोलाएर तिमी सँधै रुन्छौ अरे,
झरी बनि आँसु झर्दा खुसी सबै धोला हगी|

डाँडा पारी एउटा मुटु वारी अर्को मुटु हुँदा,
छुटिएर बाँच्न पनि,गाह्रो भा'को होला हगी|

हामीलाई नै चुटि रह्यो निर्दयी त्यो दैवले नि,
तर चुपचाप हेरी बस्यौं,हामी कति भोला हगी|

बिछोडिनु लेख्या रै'छ तिम्रो मेरो तक्दिरैमा,
आँसु पिउंदै बाँच्नु पर्ने कस्तो हाम्रो चोला हगी|