१४७ औं मोती जयन्ती भव्यताका साथ मनाइयो

खेमराज गाउँले÷रोल्पा,  १ भदौ

       १४७ औ मोतीजयन्ती रोल्पाको लिबाङमा भव्यताका साथ मनाइएको छ । राप्ती साहित्य परिषद जिल्ला शाखा रोल्पाको आयोजनामा आज लिबाङमा खुल्ला गजल प्रतियोगिता, पुरस्कार वितरण एवं कृति लोकार्पण समारोह गरी मनाइएको हो । गजल मञ्च नेपालका उपाध्यक्ष एवं वरिष्ठ गजलकार खगेन्द्र गिरीको प्रमुख आतिथ्यता एवं प्रमुख जिल्ला अधिकारी यादव सुवेदीको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रमको अध्यक्ष जिल्ला शाखा अध्यक्ष डी.बी. टुहुरोले गर्नुभएको थियो ।

कार्यक्रममा रोल्पालीको प्रतिनिधि गजलसंग्रह रोल्पाली गजल र गजलकारको विमोचन कार्यक्रमका प्रमुख अतिथि एवं गजल मञ्च नेपालका उपाध्यक्ष खगेन्द्र गिरी कोपिलाले गर्नुभयो भने राज एकान्त जिएमको प्रेमालाप गजलसंग्रहको विमोचन कार्यक्रमका विशिष्ट अतिथि एवं प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले गर्नुभयो । कार्यक्रममा प्रेमाञ्जली गजलसंग्रहको समीक्षा दामु मर्सिफुलले गर्नुभएको थियो ।

       यस्तै यसवर्षको सरुपाचित्र नारी प्रतिभा पुरस्कार धबाङ निवासी जलजला रोकामगरलाई प्रदान गरिएको छ । साहित्यकार गिता निर्दोषीद्वारा स्थापित सो पुरस्कार हरेक वर्ष जिल्लामा रहेर साहित्यमा योगदान दिने एकजना नारी प्रतिभालाई प्रदान गरिन्छ । पुरस्कारको रासी प्रमाणपत्र र नगद १ हजार रहेको छ ।

कार्यक्रममा मध्यपश्चिमाञ्चल गजल प्रतिष्ठानका सचिव अमृत ढकाल निर्जन, प्रगतिशिल लेखक संघ रोल्पाका अध्यक्ष चन्द्र जिएम, ललित साहित्य परिषद् रोल्पाका पूर्व सल्लाहकार राजेश धिताल, जलजला साहित्य परिषद् सुलिचौरका अध्यक्ष दीपेश पराइ विष्ट, युगदर्पण साहित्य समाज रोल्पाा अध्यक्ष यज्ञबहादुर डाँगी, नेपाली कांग्रेसका सहसचिव दिपक श्रेष्ठ, नेकपा एमाले रोल्पाका सचिवालय सदस्य दिलबहादुर केसी लगायतले मन्तव्य दिनुभएको थियो ।

कार्यक्रममा गायत्री घर्तीमगर, राजेश बुढाथोकी, केवी विरही, गीता निर्दोषी, गगन रोकाय दैलेखी, अमर जिएम, भिम बुढामगर, मोहन परियार, दीपेन्द्र शर्मा, धनराज विक अविरल आर्तनाद, ह्याप्पी, लोकेन्द्र सेन, तेजेन्द्र घर्तीमगर, चन्द्र ज्योति श्रेष्ठ संगम, पूर्ण स्टार, शेरबहादुर थापा, कृष्णा कवर, जुन प्रियसी पुनमगर, व्योम जी अवतार मगर, राज एकान्त जिएम, जलजला रोकामगर, कर्ण खड्का, जमुना केसी लगायतले गजल तथा गीत बाचन गर्नुभएको थियो ।

यसबीच आजै भएको खुल्ला गजल प्रतियोगितामा लिबाङका लोकेन्द्र सेन सिम्पल कान्छ प्रथम, जेलबाङका विष्णु पुन सन्यास मगर द्वितीय, सारी प्यूठानका युवराज दर्पन तृतीय हुनुभएको थियो भने जिनाबाङका विमला डाँगी विकलता र इरिबाङ ५ का मनप्रसाद पुनमगर सान्त्वना हुनुभएको थियो । प्रतियोगितामा जिल्ला र जिल्ला बाहिरका गरी २९ जना गजलहरुले प्रतिस्पर्धा गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि कोपिला र मध्यपश्चिमाञ्चल गजल प्रतिष्ठानका सचिव अर्जुन ढकाल निर्जनलाई राप्ती साहित्य परिषद् जिल्ला शाखाले कदर प्रत्र प्रदान गरेको थियो भने मध्यपश्चिमाञ्चल गजल प्रतिष्ठान जिल्ला शाखा रोल्पाले मायाको चिनो प्रदान गरेको थियो ।

जिल्ला शाखा उपाध्यक्ष ओम पंक्षीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव कविता उपाध्यायले गर्नुभएको थियो ।

, ,