ललित साहित्य परिषद्को बैठक सम्पन्न

खेमराज गाउँले, रोल्पा पुष ७ । ललित साहित्य परिषद् रोल्पाको बैठक शनिबार लिबाङमा सम्पन्न भएको छ । परिषद्का अध्यक्ष ओम पन्छीको अध्यक्षतामा बसेको बैठकले साहित्यिक पत्रिका ‘लालित्य’को प्रकाशनलाई निरन्तरता दिने निर्णय  गरेको छ ।
    बैठकमा ‘लालित्य’को आठौं अंक नयाँ वर्ष २०७० को अवसर पारेर प्रकाशन गर्ने र रचना सङ्कलनको जिम्मा परिषद्का सचिव खेमराज गाउँलेलाई दिने निर्णय गरेको छ । बैठकले परिषद्को आर्थिक वर्ष ०६९/७० को नवीकरण खर्च अनुमोदन गरेको छ । त्यस्तै दिगोकोष सहकारी संस्थामा भएको परिषद्को ऋण तिर्ने निर्णय समेत भएको छ । मंसिरमा परिषद्ले सञ्चालन गरेको ‘भाग्यलक्ष्मी उपहार कार्यक्रम’बाट भएको आम्दानीले उक्त ऋण तिर्ने निर्णय भएको परिषद्का महासचिव केवी विरहीले जानकारी दिनुभयो ।
    यसैबीच परिषद्का मानार्थ सदस्य गौरीकिरण डाँगीले परिषद्लाई सहयोग स्वरुप १० हजार प्रदान गर्नुभएकोमा परिषद्ले धन्यवाद दिने निर्णय गरेको छ । परिषद्को विकास तथा साहित्यिक विकासका लागि डाँगीले ३ वर्षदेखि वार्षिक रुपमा सो रकम प्रदान गर्दै आउनुभएको परिषद्का अध्यक्ष ओम पन्छीले जानकारी दिनुभयो ।

, , , , , , ,