कविता: डांडापारिबाट

केहि थान नयाँ नोट
- तिब्बत दर्लामी
नयाँ कपडा
र रंगीचङ्गी खुसीहरू बोकेर
गाउ पसेकी आइती माया तामाङले
यस्पालीको दशैं भब्य मनाएर
फर्किदैछे आज
कुहिरो मुनिको उदास पहाड
र अनकन्टार जंगलको
भिरालो गल्ड्याङगुल्डुङ रुटमा चल्ने
पुरानो थोत्रो गाडीको अन्तिम सिटमा बसेर
फर्किदैछे उही पुरानै काठमाण्डु शहरमा
फर्किदैछे उही पुरानै दैनिकीहरूमा ।
उन्को झोलामा छ-
एक मुठा कलिलो रायो साग
एक मुठा हरियो बोडी
एक मुठी हरियो खुर्सानी
अलिकति हरियो बरेला
दुइ माना नयाँ मकैको पिठो
कोकाकोलाको बोत्तलमा राखेकी छे
कोदोको निक्खर तीनपाने
आमाले राखिदिएको रांगाको सुकुटी
जतनले खाँदेकी छे झोलाको भित्रपट्टी ।
तर
कसैले नदेख्ने गरि राखेकी छे:
गाउको तस्बीर आखाँमा
आमा, आप्पा र भाइको मायाँ मुटुमा
कसैले नदेख्ने गरि बोकेकी छे
परिवारको गह्रुङ्गो जिम्मेवारी ।
शहर पुगेपछि
पल्लो कोठाकी जानकी गौतमलाई दिनुछ
अलिकति रायो र खुर्सानी
पल्लो घरकी डेरावाल साथी सम्झनालाई बाड्नुछ
थोरै बरेला र बोडी
दोहोरी साँझको बिरकाजी साहुलाई कोसेली
रांगाको सुकुटी र कोदोको तीनपाने बुझाउनु पर्नेछ ।
भोली साँझ
म पनि ठमेलको डाँडाकाँडा दोहोरी जादैछु
जहाँ आइती माया वेट्रेसको काम गर्छिन्
बोत्तलको बियर गिलासमा सार्दै
उन्लाई सुटुक्क सोध्नुछ:
ओइ आइती! मेरो लागि चै के ल्यायौ
तिम्रो डांडापारीबाट ?


Share